समाचार

बिदेश जान चाहने कामदारलाई भिसा नलागे तुरुन्त पासपोर्ट फिर्ता दिनु: बैदेशीक रोजगार बिभाग

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका क्रममा देखिएका समस्या निराकरण गरी सुरक्षित वैदेशिक रोजगारीको वातावरण सिर्जना गर्न म्यानपावर कम्पनीलाई निर्देशन दिएको छ ।

म्यानपावर कम्पनीको अवान्छित कार्यको सुक्ष्म अनुसन्धान भइरहेको जनाउँदै विभागले त्यस्ता गतिविधि गर्ने कम्पनीलाई कानूनको दायरामा ल्याइने स्पष्ट पारेको छ ।

म्यानपपावर कम्पनीले कामदारको राहदानीलगायत कागजपत्र नियन्त्रणमा लिने, समयमै काममा नपठाउने र त्यसबीचमा कामदारले नजाने इच्छा व्यक्त गरेमा सबै कागजात फिर्ता नदिई दुःख दिनेजस्ता घटना बढ्दै गरेको जनाउँदै कामदारको राहदानी कम्पनीमा राख्दा कम्पनीले बुझिलिएको भरपाई दिने व्यवस्था अनिवार्य गर्न विभागले निर्देशन दिएको छ ।

कामदारको राहदानी कम्पनीमा सङ्कलन भएपछि अनिवार्य रुपमा नाम, राहदानी नम्बरको अभिलेख राख्नुपर्ने व्यवस्थालाई कडाइ गरिएको छ ।

म्यानपावर कम्पनीका आधिकारिक व्यक्ति आफ्नो परिचयपत्र लगाएर बस्नुपर्ने व्यवस्था गरिएको छ । अनाधिकृत व्यक्तिलाई कम्पनीमा राखी कामदारसँग लेनदेन र अन्य कुनै प्रकारको कारोवार गर्न लगाई कामदार ठगी गरेमा म्यानपावर कम्पनी स्वयम् जवाफदेही हुने विभागका महानिर्देशक दिलीपकुमार चापागाईले जानकारी दिए ।

कामदारलाई ‘श्रम मात्र गरिदिएको’ र बाँकी अन्य काममा कामदार स्वयं जवाफदेही हुने जस्ता गलत सम्झौता गराई विदेश पठाउने गतिविध तत्काल बन्द गर्नसमेत विभागले निर्देशन दिएको छ ।

म्यानपावर कम्पनीमा आवश्यक मात्रामा फर्निचर, स्वच्छ पिउने पानी र आगन्तुक कक्षसहित न्यूनतम पूर्वाधारको व्यवस्था गर्नुपर्ने, कर्मचारीले अनिवार्यरुपमा परिचयपत्र लगाउनुपर्ने तथा जनसम्पर्क अधिकारीको तस्वीरसहितको विवरण सबैले देख्ने ठाउँमा राख्नुपर्ने छ ।

‘भिजिटिङ कार्ड’मा कम्पनीको इजाजत र सम्पर्क नम्बर, कम्पनी सञ्चालकको नाम र ठेगाना स्पष्ट खुलाइ उक्त कार्डको जानकारी विभागलाई गराउनुपर्ने छ ।

सबै म्यानपावर कम्पनीले अनिवार्यरुपमा कम्पनीको बेवसाइट बनाई आफ्ना गतिविधि बेवसाइटमा अद्यावधिक गर्न पनि विभागले निर्देशन दिएको छ । वैदेशिक रोजगारसम्बन्धी ऐन, नियम, निर्देशिका र परिपत्रको सङ्ग्रह कम्पनीको कार्यालयमा राख्नुपर्ने छ भने नागरिक बडापत्र, सूचनापाटी र उजुरी पेटिका सबैले देख्ने स्थानमा राख्नुपर्नेछ ।

त्यस्तै विभागले कम्पनीमा कार्यरत कर्मचारीलाई शिष्टता/आतिथ्यतासम्बन्धी अभिमुखीकरण तालीम दिनुपर्ने विभागले जनाएको छ ।