समाचार

राष्ट्रपतिद्वारा प्रधानसेनापति थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आज महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेकी छन् ।

राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् । राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित विशेष समारोहमा उनले रथी थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानसेनापति थापालाई पद तथा गोपनीयताको शपथ पनि गराए । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपस्थित थिए ।

मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखलगायत अन्य विशिष्ट महानुभावको समारोहमा उपस्थिति थियो ।

सरकारले साउन २४ गतेदेखि रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो ।

उनले सैनिक मुख्यालय जङगीअड्डा पुगेर आजै नेपालको ४३ औँ प्रधानसेनापतिका रूपमा पद बहाली गरे । विसं २०१७ भदौ २५ गते लमजुङको गाउँशहरमा जन्मिएका रथी थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए।