समाचार

दलित पार्टीको दोस्रो राष्ट्रिय भेला असोजमा

काठमाडौँ । नेपाल दलित पार्टीको दोस्रो राष्ट्रिय भेला आगामी असोज १६ देखि पोखरामा हुने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष मेघबहादुर कामीले नयाँ नेतृत्व चयन तथा राष्ट्रिय र अन्य विषयमा छलफल गर्नका लागि असोज १६ देखि १८ गतेसम्म भेला आयोजना गर्न थालिएको जानकारी दिए ।

उनले दलितका विषय उठाएर ठूला राजनीतिक दल सत्तामा पुगे पनि दलितले परिवर्तनको कुनै अनुभूति पाउन नसकेकाले भेला दलितका अधिकारप्रति केन्द्रित हुने बताए । भेलाले मानवतावादी सिद्धान्तलाई लागू गर्न सरकारलाई दवाव दिने र अहिले भइरहेका बलात्कारका घटनाबारे विशेष प्रस्ताव पारित गर्ने उनले बताए ।

प्रत्येक तीन तीन वर्षमा हुने भेलाले ३३ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने सचिव महेश तिरुवाले जानकारी दिए । भेलामा करीब ५०० प्रतिनिधिको सहभागिता हुनेछ । विसं २०६९ मा स्थापना भएको पार्टीले ‘मानवता, श्रमिक, समानता र लोकतन्त्र’ विषयमा आवाज उठाउँदै आएको छ । गत वर्ष सङ्घ र प्रदेश तहको निर्वाचनमा उक्त पार्टीले १० जिल्लाबाट उम्मेदवारी दिएको थियो ।