गण्डकी प्रदेश

यसरी पर्यो बाढी र कटानको चपेटामा तातोपानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको बस्ती बाढी र कटानको चपेटामा परेको छ । पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा अवस्थित भुरुङ तातोपानीको बस्ती खोल्सामा आउने बाढी र कालीगण्डकीले धार परिवर्तन गरेपछि कटानको जोखिममा परेको हो ।

बाढी र कटानको जोखिमका कारण करीब सय घरधुरीको बसोबास रहेको भुरुङ तातोपानीका बासिन्दा त्रासमा परेको नेपाल रेडक्रस सोसाइटी भुरुङ तातोपानी उपशाखाका सभापति दशरथकुमार कर्माचार्यले बताए । “बस्तीमाथिको पाखोबाट आउने बाढी र कालीगण्डकीको कटानका कारण जोखिम बढेको हो” कर्माचार्यले भने, “बाढी र कटानको जोखिमका कारण बर्खायाममा राम्रोसँग निदाउनसमेत पाउँदैनौँ ।”

गत वैशाख ३० गते बस्तीमाथिको खोल्साबाट आएको बाढी पस्दा चार घर पूर्ण र १३ घरमा आंशिक गरी करीब रु एक करोडको क्षति पु¥याएको थियो । कालीगण्डकी किनारमा रहेको सर्वोदय माविको खेलमैदानको आधा भाग नदीले कटान गरेर बगाइसकेको छ ।

भदौ १ गते राति कालीगण्डकीमा आएको बाढीले खेलमैदान परिसरमा रहेको भुरुङ तातोपानी मिट सप्लायर्स र बल्क उद्योग पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । कालीगण्डकीले धार परिवर्तन गरेर प्राकृतिक तातोपानीको मुहानतर्फ सोझिएकाले कटानको जोखिममा परेको छ ।

भुरुङ तातोपानीस्थित सीमा प्रहरी चौकी क्षेत्रको कार्यालय वरपरका बासिन्दा रातको समयमा अन्यत्र गएर सुत्ने गरेका छन् । वैशाखको बाढीलगत्तै जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिशमा जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालय बागलुङले ७५ थान तारजाली उपलब्ध गराएको थियो ।

गाउँपालिकाको रु पाँच लाख र प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापाको पहलमा जलउत्पन्नले उपलब्ध गराएको थप रु पाँच लाखबाट ७५ थान जाली भरेर खोल्सामा छेक बाँध र ग्याबियन पर्खाल लगाएको छ ।

थप ग्याबियन पर्खाल लगाउन जाली, बजेट र योजनाको अभाव भएको कर्माचार्यले बताए । उनका अनुसार थप १०० थान तारजाली आवश्यक देखिएको छ । नदी कटान र बाढी नियन्त्रणका लागि गाउँपालिकामार्फत् प्रदेश र सङ्घीय सरकारका निकायमा पहल गरिएको वडाध्यक्ष ओमप्रकाश फगामीले बताए ।

खानी बन्द हुँदा रोजगारी गुम्यो

म्याग्दीको मालिका गाउँपालिकाको १, २ र ३ नम्बर वडामा रहेका स्लेट खानी बन्द हुँदा स्थानीयको रोजगारी र आम्दानीको अवसर गुमेको छ । सङ्घीय र प्रदेश सरकारले कानून निर्माणमा ढिलाइ गरेका कारण घर तथा भवन छाउने ढुङ्गा (स्लेट) उत्खनन गरिँदै आएका खानी बन्द भएको हो ।

संविधानले व्यवस्था गरेअनुसार सङ्घीय र प्रदेश सरकारले खानी उत्खनन तथा सञ्चालनसम्बन्धी कानून निर्माणमा ढिलाइ गर्दा खानी सञ्चालन हुन नसकेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

स्थानीय स्वायत्त शासन ऐन २०५६ अनुसार तत्कालीन गाविसले सञ्चालन गर्दै आएको खानीलाई नयाँ संरचनाअनुसार गाउँपालिकाको मातहत ल्याएर व्यवस्थित र वैधानिकरुपमा सञ्चालन गर्न कानूनी अड्चन देखिएको छ । “वातावरणीय अध्ययन गरेर व्यवस्थित र पारदर्शी हिसाबले खानी सञ्चालन गर्ने तयारी गरिए पनि कानून नबन्दा अप्ठ्यारो भएको छ” गाउँपालिकाका अध्यक्ष रोकाले भने ।

पहिले स्थानीय युवाले वार्षिक रु पाँच लाखमा ठेक्का लिएर उत्खनन र निकासी गर्दै आएका थिए । गाउँपालिकाका अनुसार स्लेट उत्खननकर्ताले यसअघि करार गरेबमोजिम रु छ लाख ३१ हजार अझै भुक्तानी गरेका छैनन् ।

घर छाउन र भूइँमा बिछ्याउनका लागि स्लेट प्रयोग हुन्छ । पातला, आकर्षक र सस्तो हुने भएकाले म्याग्दीका ग्रामीण बस्तीसँगै सदरमुकामलगायत छिमेकी जिल्लामा रुमको स्लेटको माग बढ्दो छ । सिमेन्टले ढलान गरेको भन्दा लागत कम पर्ने, आकर्षक देखिने र टिकाउ हुने भएकाले कच्ची घर छाउन तथा पक्की घरभित्र र बाहिर टायलको रुपमा बिछ्याउन स्लेटको खपत बढेको वडाध्यक्ष नरबहादुर पुनले बताए ।

खानी बन्द हुँदा खानीमा स्लेट उत्खनन गरेर जीविकोपार्जन गर्दै आएका ५० भन्दा बढी मजदूर बेरोजगार भएका मजदूर पदमबहादुर विकले गुनासो गरे । खानीमा काम गरेर एक जनाले मासिक रु १० हजारदेखि ४५ हजारसम्म आम्दानी गर्दथे । खानीमा अधिकांश दलित समुदायका मजदूर कार्यरत थिए ।

रुम गाउँदेखि दुई घण्टा उकालो पैदल हिँडेपछि पुगिने पहाडको फेदीमा रहेको खानी विसं २०२६ मा पहिचान भएको थियो । रुमको स्लेट काठमाडौँ, पोखरा, चितवनलगायतका शहरमा निकासी हुने गरेको छ । मालिका गाउँपालिकाको १, २ र ३ नम्बर वडामा आधा दर्जन स्लेट खानी रहेका छन् ।

झोलङ्गे पुल बगायो

म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको बेँसीस्थित ठूलोखोलामा सोमबार राति आएको बाढीले झोलुङ्गे पुल बगाएको छ । मराङको बेसीँदेखि मल्कवाङ, कुइने, भेडीखाल्डा, आरबाङ, घण्टीवाङ, रिख जाने बाटोमा पर्ने काठको झोलुङ्गे पुल बगाएको हो । बाढीले बेँसीमा सयौँ रोपनी खेतीयोग्य जमीन कटान गरेको र बस्तीसमेत जोखिममा परेको वडाध्यक्ष राजाराम सुवेदीले बताए ।

पुल बगाएपछि खोला वारपार बन्द भएको छ । मराङस्थित जनविकास माविमा आरबाङ, घण्टीबाङ, रिखको बस्तीबाट अध्ययनका लागि आउने विद्यार्थीलाई समस्या भएको छ । एक सय घरधुरीभन्दा बढी प्रभावित भएका छन् ।

ठूलोखोलाको कटानले सिँचाइको पाइप र विभिन्न ठाउँमा पैदलमार्गसमेत बगाएको छ । बेँसीस्थित ठूलो र सानो खोलाको दोभानमा रहेको हरिहर मन्दिर जोखिममा परेको छ । सानो खोलामा रहेको अस्थायी काठे पुलसमेत बाढीले बगाएको छ । बाढी र पहिरोले पु¥याएको क्षति विवरण सङ्कलन भइरहेको वडाध्यक्ष सुवेदीले जानकारी दिए ।