लुम्बिनी

लैङ्गिक हिंसा प्रभावित महिला भन्छन्ः पैसा एक रुपियाँ छैन तर हिम्मत छ

घोराही । पैसा एक रुपियाँ छैन । कतैबाट आउला र कसैले दिन्छ भन्ने आश पनि छैन तर हिम्मत छ । त्यही हिम्मतले कुखुरा फार्म खोलिएको छ, खोरमा बाख्रा छन्, हाते होजियारी र मेशिनरी होजियारी सञ्चालन हुन्छन् । दुई घर बनेका छन् । यसभन्दा धेरै योजना छन् ।

लैङ्गिक हिंसा प्रभावित महिला अहिले विगतको आँशु बिर्सेर कृषि र व्यवसायमा लागेका छन् । घरव्यवहारबाट पीडित भई घर छाडेर निस्केका महिलाहरु दीर्घकालीन रूपमा स्वरोजगार बन्ने प्रयासमा छन् । यसरी सक्षम महिला सामुदायिक संस्थाले घोराही–१३ सेवारमा हिंसा प्रभावित महिलालाई उद्यमशील बनाएको छ ।

समाजसेवी विमला योगीले सहयोग गरेको आठ कठ्ठा जग्गा र एउटा घरमा सामुदायिक संस्थाले अर्को सानो घर बनाएको छ । “हामी महिलासँग अलिअलि सुन थियो, सुन बेचेर घर बनायौँ”, संस्थाका अध्यक्ष रचना सुवेदीले बताए । त्यही घरमा उन्नत जातका कुखुरा फार्म सञ्चालित छ । गत फागुनदेखि सञ्चालित फार्ममा २५० कुखुरा र ११ बाख्रा पालेर संस्थाले आम्दानीको स्रोत निर्माण गर्न खोजेको छ ।

संस्थामा आबद्ध ४० हिंसा प्रभावित महिलाले त्यहाँ काम गर्छन् । एक्काइस जनाले हाते होजियारी र ६ जनाले मेशिनरी होजियारीमार्फत उत्पादन गरेका सामग्री दाङ र छिमेकी जिल्लामा माग छ ।

त्यसबाट आएको आम्दानीबाट हिंसा प्रभावित महिलालाई खाने, बस्ने र न्यायिक प्रक्रियाका लागि चाहिने खर्च व्यवस्थापन गर्ने गरिएको छ । “घरबाट निकालिएका हिंसा प्रभावित महिला ४५ दिनसम्म सेभ हाउसमा बस्न पाउँछन्, त्यसपछि उनीहरूलाई कहाँ पठाउने रु” अध्यक्ष सुवेदीले भन्नुभयो, ‘त्यस्ता महिलाले आएकै दिनदेखि यहाँ काम गर्नुहुन्छ, सीप सिक्नुहुन्छ, कृषि काम गर्न पाउनुहुन्छ ।”

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी हिंसा प्रभावित महिलालाई हिम्मत गरेर काम गर्न सुझाव दिन्छन् । विगतका कुरा सम्झेर आफूलाई कमजोर नबनाउन आग्रह गर्दै चौधरीले हिंसा प्रभावित महिलाको सीप विकासका लागि कार्यक्रम रहेको जानकारी दिए । उनले उद्यमीलाई योजना बनाउन आग्रह गर्दै त्यसो भएमा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए ।