लुम्बिनी

रोजगारका लागि विदेशिने क्रम बढेसँगै देखियो कालिगढको अभाव

प्यूठान । जिल्लामा कालिगढको अभाव भएको छ । युवा रोजगारका लागि विदेशिने क्रम बढेसँगै कालिगढको अभाव भएको हो । घरेलु उद्योगमा कालिगढ अभावका कारण व्यापार व्यवसाय फस्टाउन सकेको छैन । तामाका भाँडा बनाउने व्यवसाय कालिगढ अभावमा सङ्कटमा छ । सो व्यसायलाई हेलाको दृष्टिले हेर्ने गरिएको छ । अहिले जिल्लाका तीन ठाउँमा मात्र तामाका भाँडा बनाउने गरेको भेटिन्छ । दाखाक्वाडी, बिजुवार जुम्री र बाग्दुलामा तामाका भाँडा बनाइन्छ । प्यूठानबाट यहाँ आई पुराना तामाका भाँडा खरीद गरेर व्यवसाय थालेको गुमानसिंह सुनार बताउँछन् । उनी विगत २५ वर्षदेखि जुम्रीमा तामाका भाँडा बनाउँदै आएका छन् । “यो पेशा लोप हुने अवस्थामा पुगेको छ,” उनले भने ।

कालिगढसँगै लगानीको समस्या भएको सुनारले बताए । विगतमा छ/सात जनालाई रोजगार दिएपनि हाल उनीहरु विदेश पलायन भएका छन् । उनलाई अहिले श्रीमती प्रेमकला र छोरा एकराजले सघाउँदै आएका छन् ।  “मासिक रु २० हजारसम्म आम्दानी हुन्छ,” सुनारले भने, “वार्षिक रु पाँच लाखसम्मको कारोवार हुन्छ ।”

जिल्लाको दाखाक्वाडीमा यही पेशा गर्दै आउनुभएका लिलाबहादुर टमटालाई पनि सुनारको जस्तै समस्या र चिन्ता छ । “कालिगढको अभावले माग धान्न सकेको छैन,” उनले भने । विसं २०६८ देखि व्यवसाय थालेका टमटाले रातदिन काम गर्दा पनि माग पुरा गर्न नसकेको बताए । उनको उद्योगमा चार जनाले रोजगारी पाएका छन् । “बजारमा माग बढ्दो छ,” उनले भने, “आफ्नै छोरा नातिले पनि यो पेशा गर्दैनन् ।”

टमटाले वार्षिक करीब रु १४ लाखसम्मको कारोवार गर्दै आएका छन् । कामदारले मासिक रु १२ हजारदेखि रु १८ हजारसम्म ज्याला पाउने गरेका छन् । पेशा सङ्कटमा पर्दै गएको उनी बताउँछन् । गाउँघरमा खरीद गरिएका पुराना भाँडाले नै माग धानिरहेको टमटाले बताए । उनले गाग्री, ताउला, अमखोरा, माना, पाथी, परादलगायत भाँडा बनाउँछन् ।