प्रदेश 1

सुरक्षित मातृत्व कार्यक्रम असफल

ओखलढुङ्गा । घरैमा सुत्केरी गराउँदा ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–९ पात्ले घुन्साकी २१ वर्षीया छोटिन शेर्पाको केही दिनअघि मृत्यु भयो । घरमै छोरी जन्माउनु भएकी २१ वर्षीय शेर्पाको साल अड्किएर लगातार रक्तस्राब भएपछि तत्काल उपचार नपाउँदा मृत्यु भएको हो ।

गर्भावस्थामा नियमित जाँच र प्रसूति गराउन स्वास्थ्य संस्था लैजान नसक्दा उनलाई बचाउन नसकिएको स्वयंसेवीका आङ्फुर्लु शेर्पाले बताए । घरैमा सुत्केरी हुनु भएकी खिजीदेम्बाकै रगनीकी रीता मगरको पनि साल अड्किएर मृत्यु भयो ।

करीब चार घण्टाको प्रशव पीडापछि सकुशल शिशु जन्माएउनु भएकी रीताको साल नझरेको समस्या समाधान गर्न नसक्दा उनको मृत्यु भएको स्थानीयवासी बताउछन् । श्रीमतीको ज्यान बचाइदिन रीताका श्रीमान् गोपालले हारगुहार गरे पनि स्वास्थ्य संस्थामा भएका स्वास्थ्यकर्मीले घरमा गएर सेवा दिन अटेर गरेपछि तीन सन्तानकी आमा रीताको मृत्युभयो ।

छोटिन र रीताको समस्या प्रतिनिधि घटना मात्रै हुन् । जिल्लामा अधिकांश गर्भवती महिलाले स्वास्थ्य संस्थामा नगई घरमै जोखिम मोलेर बच्चा जन्माउने गरेको पाइएको छ । सुरक्षित सुत्केरी गराउन सङ्घीय सरकार र स्थानीय सरकारले आकर्षक सुविधा उपलब्ध गराए पनि त्यसले सबैलाई समेट्न सकेको छैन ।

‘‘स्वास्थ्यमा हेलचेक्राँयी गर्नुहुँदैन भनेर गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई सुविधा दिने घोषणा पनि गरेका छौँ, तर अवस्था उस्तै छ’’ खिजीदेम्बा–९ का वडाध्यक्ष आङ्पशी शेर्पाले भने, “दुर्गम क्षेत्र र सचेतनाको कमीका कारण आमा र शिशु बचाउन समस्या भइरहेको छ ।” खिजीदेम्बामा लगातार घरैमा सुत्केरी भएका महिलाको मृत्यु भइरहेपछि गाउँपालिकाले समस्या समाधानका लागि कुनै ठोस् योजना बनाएको छैन ।

घरैमा सुत्केरी हुने क्रम रोकिएन

जिल्ला जनस्वास्थ्य कार्यालय रुम्जाटारको तथ्याङ्कअनुसार अझै प्रत्येक वर्ष पाँचदेखि १० प्रतिशत महिला घरैमा सुत्केरी हुने गरेका छन् । तीन वर्षयता सय प्रतिशत गर्भवतीमध्ये ८५ प्रतिशतले मात्र सूचीकृत स्वास्थ्य संस्थामा सुत्केरी गराएका छन् । बाँकी १५ प्रतिशत गर्भवतीले आ आफ्ना घरमा जोखिमपूर्ण तरिकाले बच्चा जन्माएका छन् । कार्यालयका अनुसार आर्थिक वर्ष २०७२/७३ मा एक हजार ८१५ जना स्वास्थ्य संस्थामा सुत्केरी हुँदा १३९ जनाले घरैमा बच्चा जन्माएका छन् ।

आर्थिक वर्ष २०७३/७४ मा एक हजार ९४२ जना स्वास्थ्य संस्थामा र १२२ जना घरैमा सुत्केरी भएको तथ्याङ्क रहेको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्ष २०७४/७५ मा एक हजार २५७ जनाले स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएकोमा १२० भन्दा बढीले घरैमा बच्चा जन्माएका छन् ।

जिल्लाभरका स्वास्थ्य संस्थाले सङ्कलन गरेको तथ्याङ्कले सुरक्षित सुत्केरी गराउनेमा बढी शहर बजारका महिला रहेको देखाएको छ । अधिकांश ग्रामीण भेगका महिलाले घरमै बच्चा जन्माउने गरेका छन् ।

सरकारी प्रयास असफल

स्वास्थ्य कार्यालयको तथ्याङ्क हेर्दा सबै गर्भवतीलाई स्वास्थ्य सेवाको पहँच पु¥याउने सरकारी प्रयास असफल सावित भएको छ । सरकारले सुत्केरीका निम्ति उपलब्ध गराउँदै आएको यातायात खर्चभन्दा स्वास्थ्य संस्थामा लैजाँदा लाग्ने खर्च अधिक हुने भएकाले घरैमा बच्चा जन्माउनेको सङ्ख्या बढी देखिएको हो ।

भौगोलिक असुविधा र यातायात समस्याका कारण पनि जिल्लाको दुर्गम गाउँका गर्भवतीलाई प्रसूति गराउन स्वास्थ्य संस्था लैजान कठिनाइ छ । जिल्ला अस्पतालसहित ३० भन्दा बढी स्वास्थ्य संस्था सुरक्षित सुत्केरी गराउन पाउने व्यवस्थामा सूचीकृत भएका छन् ।

परिवारको असहयोग

ओखलढुङ्गा जनजाति समुदायको बाहुल्यता भएको जिल्ला हो । यहाँका विपन्न र दलित समुदायका महिलालाई गर्भवती भएपछि भारी सामान उठाउनु हुँदैन, अस्पताल गएर समयसमयमा चिकित्सकलाई जाँच गराउनुपर्छ भन्ने ज्ञान भए पनि उनीहरूलाई परिवारबाटै सहयोग नहुने पीडित बताउँछन् ।

गर्भवती महिलाले गर्भवती भएपछि के गर्न हुने के नहुने धेरै कुरा थाहा पाउन थाले पनि यो कुरा व्यवहारमा भने लागू नभएको पलापुकी एक गर्भवती महिलाले बताए । ‘‘मलाई सबैकुरा थाहा छ, र पनि मैले घरैमा चारवटा बच्चा जन्माएँ,’’ नाम उल्लेख नगर्ने सर्तमा उनले भने, “घरका सदस्यले अग्रसरता नलिएपछि आफ्नो मात्र जानकारीले खासै काम नलाग्ने रहेछ,” उनले गुनासो गरे ।

सुरक्षित मातृत्व कार्यक्रम प्रभावकारी भएन

सरकारले घोषणा गरेको सुरक्षित मातृत्व कार्यक्रम ओखलढुङ्गामा प्रभावकारी भएको छैन । गर्भवती भएका बेला, सुत्केरी हुँदा र सुत्केरी पश्चात् ६ हप्ताभित्र गरिने ‘विशेष सेवा’ नै सुरक्षित मातृत्व सेवा हो । तर यही सेवा नपाएका कारण आमा र बच्चाले ज्यान गुमाउने क्रम रोकिएको छैन ।