खेलकुद

भैँसेपाटीमा बेसबल खेल मैदान

ललितपुर । ललितपुर महानगरपालिका–२५ भैँसेपाटीस्थित फूलबारी मार्गमा बेसबल खेल मैदान निर्माण गरिएको छ । लालीगुराँस क्लबले उक्त खेल मैदान निर्माण गरेको हो ।

उक्त खेल मैदानको हालै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद पम्फा भुसालले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा उनले खेलकूदको विकास देश विकासको आधार भएकाले उक्त मैदानले मुलुकमा बेसबल खेलको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

लालीगुराँस बेसबल क्लब, जापानका अध्यक्ष योसेइ कोव यासी, नेपाल बेसबल एशोसिएसनका अध्यक्ष अजीत शम्शेर राणा र ललितपुर बेसबल सङ्घका अध्यक्ष केशव थापा र श्रीकुल विद्यालयका प्रधानाध्यापक शिवेन्द्र कार्कीले बेसबल खेलको विकासका लागि आफूहरु लागिपर्ने धारणा राखे । उद्घाटन समारोहमा नेपालका लागि जापानी राजदूत साइगो मचाहिति र प्रदेश नं ३ का सभासद् राजकाजी महर्जन उपस्थित थिए । स्थानीयवासी मोहिनी मिश्र रिसालले श्रीकुल विद्यालय र सो खेल मैदानका लागि जग्गा उपलब्ध गराए ।