अन्तर्राष्ट्रिय

फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो

मनिला, फिलिपिन्स । फिलिपिन्समा ‘म्याङ्कुट’ नामक भीषण आँधीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ६५ पुगेको प्रहरीले सोमबार जानकारी दिएको छ । फिलिपिन्सको केन्द्रीय प्रहरीका अनुसार लुजोन द्वीपमा यस आँधीमा परी ५४ र उत्तरी फिलिपिन्समा अन्य ११ व्यक्तिको मृत्यु भएको छ । यस प्रकोपमा परी अन्य ४३ बेपत्ता रहेका र ६४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

हाल फिलिपिन्समा केही मत्थर देखिएको उक्त आँधी हङकङ र चीनको पूर्वी तटीय सहरमा प्रवेश गरेको छ । त्यहाँ पनि आँधीले ठूलो क्षति पु¥याएको छ । प्रहरी प्रवक्ता बेनिग्नोे दुरानाले सोमबार प्रकाशित गर्नुभएको विज्ञप्तिमा मृतक सङ्ख्या ६५ पुगेको बताइएको छ । फिलिपिन्समा म्याङ्कुट आँधीका कारण ज्यान गुमाएका नागरिकको सङ्ख्या आइतबारसम्म ४९ पुगेको थियो । फिलिपिन्सको उत्तरी क्षेत्रमा रहेको लुजोन द्वीपमा आँधीबाट सबैभन्दा बढी जनधनको क्षति भएको छ ।

आँधीका कारण फिलिपिन्सको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । आँधीका कारण फिलिपिन्समा मात्र ४० लाखभन्दा बढीलाई प्रभावित पार्ने देखिएको छ । आँधीले रुखहरू ढालेको, घरका छाना उडाएको, झ्यालहरू फुटाएको बताइएको छ । लुजोनका धेरै ठाउँमा पहिरो र बाढी आएको छ । आँधीपछि गएको भूस्खलनको कारण यस क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन् ।

मध्य फिलिपिन्समा सन् २०१३ मा आएको सुपर टाइफून ‘हाइयान’ का कारण ६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी स्न् २०१३ मा राजधानी मनिलामा आएको ‘केत्साना’ नामक आँधीका परी सात सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।