समाचार

शान्ति विश्वविद्यालय प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको सम्झौतासम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।  गृहमन्त्री थापाले विश्व शान्तिको स्थापनामा नेपालले महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै उक्त सम्झौता अनुमोदन गर्नु जरुरी रहेको बताए ।

नेपालमा स्थायित्व र शान्ति स्थापनार्थ शान्ति विश्वविद्यालयको अवधारणा अगाडि सारिएको उल्लेख गर्दै मन्त्री थापाले शान्ति स्थापनासम्बन्धी अनुसन्धानकर्ता तयार पार्न विश्वविद्यालय सान्दर्भिक एवं उपयोगी भएको जानकारी दिए ।
प्रतिनिधिसभाको अर्को बैठक यही असोज ९ गते मङ्गलबार दिनको २ बजे बस्नेछ ।

समितिको सभापति निर्वाचन असोज ७ गते

प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गतको संयुक्त समितिको सभापतिको निर्वाचन यही असोज ७ गते हुने गरी मिति तय गरेको छ ।

सभामुख कृष्णबहादुर महराले निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशित गर्न सचिवालयलाई निर्देशनसमेत दिए । संसदीय सुनुवाइ समिति र राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको नेतृत्व चयनका लागि मिति तय गरिएको हो । ती दुई समिति सङ्घीय संसद्को संयुक्त समिति हो ।
यसैबीच राष्ट्रियसभाको आजैको बैठकले उक्त संयुक्त समितिमा रहने सदस्यको नामावली हेरफेर गरी सभापतिको निर्वाचनको विषयमा जानकारी गराएको थियो ।