राजनीति

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाक्नुको कारण यस्तो छ

काठमाडौं । सिंगापुर भ्रमण र समसामयिक राजनीतिक विषय बारे जानकारी दिनका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाकेका छन । आज साँझ ५ वजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाईएको बैठकमा समसामयिक राजनीतिक विषय र आफ्नो आसन्न सिंगापुर भ्रमणबारे जानकारी गराईने ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताएका छन् ।

बिगत १२ वर्षअधि मृगौलाको समस्या भएपछि अप्रेसन गराएका ओली नियमित चेक–जाँजको लागि भन्दै केहि दिनअघि सिंगापुरमा स्वास्थ्य उपचार गराउन गएका थिए । चिकित्सकको सल्लाहअनुसार पुनःपरीक्षणका लागि उनी फेरि त्यसतर्फ जाँदै छन् ।

यस्तै दलहरूबीच केही समयदेखि संवादहीनताको अवस्था सृजना भैरहेको भनि चौतर्फि आलोचना भैरहेको बेला ओलीले आज संसदमा प्रतिनीधित्व गर्ने सबै दललाई बोलाएको बताइएको छ । संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दल छन् ।

यसैबीच प्रधानमन्त्रीले ट्वीटरमार्फत आफू स्वस्थ रहेको बताए पनि भावी परीक्षणबारे भने केहि नबताएको बताईन्छ । आईतबार बसेको बैठकमा पनि उनले आफ्नो स्वास्थ्यबारे केहि पनि खुलाएनन । ओलीले आजको सर्वदलीय बैठकमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिने आशापनि गरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको बताए पनि बैठकको एजेण्डाबारे जानकारी दिइएको छैन । खासगरी मंसिरमा हुने उपनिर्वाचन तथा सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगमा नियुक्तिको विषयमा छलफल गर्न ओलीले बैठक बोलाएको हुनसक्ने आसंका गरिएको छ ।