पोखरा। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई धोका दिने धोकेवाज कम्युनिष्ट कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने आरोप लगाए । “अनेक पुलिन्दा र भ्रम छरेर अघिल्लो चुनाव जिते पनि अब कम्युनिष्टलाई जनताले राम्रोसँग बुझिसकेका छन्”, उनले भने ।
नेता रामचन्द्र पौडेलले सरकारले यो वा त्यो रुपमा जनतालाई झुक्याइरहेको बताएका छन् । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत पोखरा महानगरपालिका–३३ ठूलढुङ्गामा शनिबार आयोजित चुनावी सभामा उनले जनतालाई ठूलठूला सपना बाँढेर बनेको सरकार अहिले भने प्रतिबद्धताबाट विमुख बनेको विचार व्यक्त गरे ।
उनले सरकार जनतालाई जथाभावी कर थोपरेर भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ भने ।
यस उपनिर्वाचनमा काँग्रेसले जित्नुपर्ने बताउँदै उनले काँग्रेसले त्यागी, निष्ठावान नेता खेमराज पौडेललाई उम्मेदवारका रुपमा अघि सारेको बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले सरकारको गति र मतिलाई सच्याउँदै सही बाटोमा हिँडाउनका लागि काँग्रेसको रुख चिन्हमा मतदान गर्न जनता समक्ष आग्रह गरे । पूर्वमन्त्री यज्ञबहादुर थापाले संविधान र लोकतन्त्रको रक्षाका लागि निर्वाचन महत्वपूर्ण अवसर भएको बताउँदै काँग्रेसका उम्मेदवारलाई मतदान गरी अवसरको उपयोग गर्न आग्रह गरे ।