पु.समाचार

अहिलेको सरकारले स्वतन्त्र र सन्तुलित विदेश नीति लिएको छ- परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । सरकारले रिपोर्ट अन नेपाल्स फरेन अफेयर्स २०१८-२०१९ सार्वजनिक गरेको छ ।  विदेश मामिलाका बारेमा आर्थिक वर्ष २०१८-२०१९मा गरेका कामहरु समेटेर बनाएको २२८ पेज लामो उक्त रिपोर्ट सरकारले सोमबार सार्वजनिक गरेको हो । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज(सोमबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सो रिपोर्ट सार्वजनिक गरेका हुन् । रिपोर्टमा उनले दिएको सन्देशमा यो अवधिमा नेपालको कुटनीति अझ सक्रिय, गतिशील र परिणाममुखी भएको जनाइएको छ । उनले सन्देशमा अहिलेको सरकारले स्वतन्त्र र सन्तुलित विदेश नीति लिएको उल्लेख गर्दै यो अवधिमा उच्चस्तरीय भ्रमण र अन्य दुईपक्षीय तथा बहुपक्षीय गतिविधि भएको जनाएका छन् ।  

सार्क र बिमस्टेकको अध्यक्षको नाताले नेपालले सक्रिय भूमिका खेलेको र बिमस्टेकको चौथो शिखर सम्मेलन गराएपछि श्रीलंकालाई अध्यक्षता हस्तान्तरण गरिएको उनले उल्लेख गरेका छन् । नेपाल क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा,संरक्षण , मानवअधिकारको प्रबर्द्धन तथा  दीगो विकासका पक्षमा दृढतापूर्वक उभिएको उनले चर्चा गरेका छन् ।  सगरमाथा संवाद हुन लागेको चर्चा गर्दै नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सरकार लागि परेको पनि बताए । नेपालको परराष्ट्र नीति आफ्नो राष्ट्रिय स्वार्थ प्रबर्द्धन गर्न प्रभावकारी  भएको उनको दाबी छ ।