राजनीति

देउवाविरुद्ध ४३ पार्टी सभापति ‘पौडेल-सिटौला’को भेलामा, देउवा तनावमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट जिल्ला सभापतिहरुको भेला बोलाएका छन् । सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा विभिन्‍न निर्णय गरेसँगै असन्तुष्ट बनेका नेता पौडेलले आफूनिकटका जिल्ला सभापतिहरुको दुई दिने भेला बोलाएका हुन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज(सोमबार)बाट शुरु भएको भेलामा ४३ जना जिल्ला सभापतिहरु सहभागी छन् । भेला केन्द्रीय कार्यसमितिमा भएको एकलौटी निर्णय र आगामी दिनमा चालिने कदमका बारेमा केन्द्रित छ ।

Image may contain: 6 people, people sitting

जिल्ला सभापति परामर्श बैठक’ नाम दिइएको भेलामा शुरूमै वरिष्ठ नेता रामचन्द्र पौडेल बोलेका छन् । ‘विवादित विषयमा सहमति बनिसकेको थियो । एकाएक एकलौटी ढंगले सभापतिजी बहुमतको आधारमा अघि बढ्नुभयो । पार्टीकै इतिहासमा पहिलोपटक बहुमतले महाधिवेशनको मिति घोषणा गर्ने काम भयो । महासमिति बैठकले सर्वसम्मत पास गरेका विधानका धारा केन्द्रीय समितिले बहुमतका आधारमा पास गरियो । यो विधिसम्मत छैन, सच्याउनुपर्छ,’ पौडेलले बैठकमा भने ।

महामन्त्री शशांक कोइराला, पौडेका तर्फबाट वार्ता टोली संयोजक समेत रहेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि सुरूमै धारणा राखेका थिए। सभापति देउवा पेलेरै अघि बढ्ने मनस्थितिमा रहेकोले जसरी पनि पुस ११ गते गरेका निर्णय सच्याउन दबाब दिनुपर्ने उनीहरूको भनाइ थियो।

भेलाको पहिलो दिन सोमबार १४ जना जिल्ला सभापतिले आ-आफ्नो धारणा राखेका छन् । भेला मंगलबार बिहान साढे ११ बजे फेरि बस्‍नेछ । भेलामा सहभागी जिल्ला सभापतिहरुले पुस ११ गते केन्द्रीय कार्यसमिति बैठकबाट बहुमतका आधारमा पारित निर्णयप्रति असहमति जनाउँदै पार्टी नेतृत्वलाई चार बुँदे सुझाव दिएका छन् । 

‘पार्टी नेतृत्व समक्ष जिल्ला सभापतिहरुको ध्यानाकर्षण’ शीर्षक राखेर पत्रकारलाई बाँडिएको वक्तव्यमा भनिएको छ, “नेपाली कांग्रेसको पछिल्लो महासमिति बैठक (मंसिर २९– पुस ९, २०७५) पश्चात बसेका केन्द्रीय कार्यसमितिका केही बैठकहरुले बहुमतका आधारमा लिएका गम्भीर प्रकृतिका केही निर्णय र तिनले पार्टी जीवनभित्र पैदा गरेको संशय, अन्योलता र राजनीतिक जटिलताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”

Image may contain: 10 people, people sitting and indoor

महासमिति बैठकले सर्वसम्मत पास गरेका दुई वटा मूल प्रस्तावलाई बहुमतको गणितबाट उल्टाएर पार्टी परम्परा, संस्कार, लोकतान्त्रिक उच्च मूल्य र आफैंद्वारा पारित विधानको परिधि बाहिर धकेलिएको महसुस भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । 

भेलामा कुन कुन जिल्लाका सभापति उपस्थित छन् ? 

१. लिलादेवी बोखिम– सभापति, ताप्लेजुङ

२. नरेन्द्रकुमार केरुङ – सभापति, पाँचथर

३. हिमालय कर्माचार्य – सभापति, इलाम

४. उद्धव थापा – सभापति, झापा

५. दिपनकुमार श्रेष्ठ – सभापति, संखुवासभा

६. गोविन्द ढुङ्गाना– सभापति, तेह्रथुम

७. नन्दमणि राई– सभापति, भोजपुर

८. अग्निप्रसाद पौडेल– सभापति, धनकुटा

९. राजीव कोइराला– सभापति, सुनसरी

११. विनोदकुमार बस्नेत– सभापति, सोलुखुम्बु

१२. नरेशकुमार श्रेष्ठ – सभापति, खोटाङ

१३. उज्ज्वलप्रसाद बराल – सभापति, सिन्धुली

१४. विकास लामा – सभापति, सिन्धुपाल्चोक

१५ मधु आचार्य –  सभापति, काभ्रेपलान्चोक

१६. कृष्ण (सवुज) बानियाँ – सभापति, काठमाडाैं 

१७. जगदीश्वर नरसिंह के.सी.,– सभापति, नुवाकोट

१८. रमेश धमला – सभापति, धादिङ

१९. जीतनारायण श्रेष्ठ – सभापति, चितवन

२०. भेषबहादुर पौडेल – सभापति, लम्जुङ

२१. याङजिङ विष्ट – सभापति, मुस्ताङ

२२. खम्बहादुर गर्बुजा (खम्बिर) – सभापति, म्याग्दी

२३.भुवनप्रसाद श्रेष्ठ – सभापति, गुल्मी

२४. वीरबहादुर राण – सभापति, पाल्पा

२५. विष्णुप्रसाद खनाल मुस्कान –  सभापति, अर्घाखाँची

२६. सुरेन्द्रराज आचार्य – सभापति, कपिलवस्तु

२७. अमरसिंह पुन – सभापति, रोल्पा

२८ अमरप्रसाद भण्डारी – सभापति, प्युठान

२९. गणेश चन्द – सभापति, सल्यान

३०. किरण कोइराला – सभापति, बाँके

३१. सञ्जय गौतम – सभापति, बर्दिया

३२. केशरमान रोका – सभापति, रुकुम पूर्व 

३३. दीपकबहादुर शाही – सभापति, जुम्ला

३४. हर्षबहादुर बम – सभापति, कालीकोट

३५. दीपकजंग शाह – सभापति, जाजरकोट

३६. प्रेमप्रकाश वली – सभापति, रुकुम पश्चिम

३७. कृष्णकुमार वि.सी‍. – सभापति, दैलेख

३८. कमलराज रेग्मी – सभापति, सुर्खेत

३९. ललितसिंह बोहोरा –सभापति, दार्चुला

४०. नरेन्द्र थापा- सभापति, बैतडी

४२. खड्गबहादुर शाही- सभापति, मुगु

Image may contain: 5 people, people sitting

भेलामा प्रदेश २ का आठवटा जिल्लामध्ये कुनै पनि जिल्ला सभापति उपस्थित छैनन् ।