राजनीति

गुठी संस्थानले गुठीको संरक्षण गर्न नसकेको गुनासो चौतर्फी रुपमा आयो : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठीको धर्म, संस्कृती, प्रथा, परम्पराको संरक्षण सरकारले गर्ने बताएकी छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज (सोमबार) गुठी विधेयक सम्बन्धी सरोकारवाला गुठियार, गुठी विधेयक विरुद्धको संघर्ष समितिसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरूको प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले गुठी संस्थानले गुठीको संरक्षण गर्न नसकेको गुनासो चौतर्फी रुपमा आएपछि प्राधिकरण अगाडी बढाइएको बताइन । गुठीलाई राम्रो बनाउनका निम्ती मन्त्रलयले सरोकारवालाबीचमा छलफल गरेको भन्दै देशभर विभिन्न प्रकृतिको गुठी रहेकाले एकै विधिले सबै गुठीको समस्या एकै तरिकाले नहुने बताइन । ‘देशभर फरक-फरक प्रकृतिका गुठी छन् । एउटै विधिले सबै गुठीको समस्या समाधान हुन सक्दैन’, मन्त्री अर्यालले भनिन्, ‘गुठीको मर्म, भावनालाई संरक्षण गर्नका निम्ती तपाइहरूकै सुझावअनुसार प्राधिकरण अगाडी सारेका हौं ।’

मन्त्रालयले अहिले पवित्र भावनाका साथ गुठी सम्बन्धी कानुन राम्रो बनाउन लागेको भन्दै मन्त्री अर्यालले त्यसमाथी आशंका नगर्न समेत आग्रह गरिन् । धर्म, संस्कृती, प्रथा, परम्परा सम्बन्धी गुठी, जग्गा सम्बन्धी गुठीको व्यवस्थापन कसरी गर्ने तथा अतिक्रमणमा परेका जग्गाको संरक्षण कसरी गर्ने भन्ने कुरा फरक-फरक ढंगले हेरिनुपर्ने उहाँको भनाइ थियो ।

उपत्यकाकै प्रमुख स्थानका बहुमूल्य जग्गा अतिक्रमण भएको खबर आएको भन्दै मन्त्री अर्यालले त्यसको छानबीन गरिरहेको समेत बताइन । उपत्यकाका गुठीको संरक्षणसँगै अतिक्रमण भएका जग्गाको संरक्षण कसरी गर्ने भन्नेतर्फपनि ध्यान दिन आग्रह गरिन् । देशभर १३९ विघा गुठीको जमिन अतिक्रमण भएको भन्दै उनले मन्त्रालय शुद्धता, संरक्षणको अभियानमा लागेको बताइन ।

यसैबीच कार्यक्रममा बोल्दै शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले काठमाडौं उपत्यकाका नेवार समुदायसँग जोडिएको प्रथा, परम्परा, संस्कृतिसँग जोडिएको गुठी संरक्षण गर्न विशेष ध्यान दिनुपर्ने बताए । संस्कृतीसँग जोडिएको गुठी र जग्गाको विशेषतालाई फरक-फरक ढंगले सम्बोधन गरिनुपर्ने उनको भनाइ थियो । ‘नेवारको परम्परागत संस्कृती र जग्गाको प्रकृती फरक छ । उपत्यकालाई संस्कृतिसँग जोडेर हेरिनुपर्छ’, मन्त्री मानन्धरले भने ।

कार्यक्रममा सहभागी गुठीसम्बन्धी सरोकारवालाहरूले छलफलका क्रममा काठमाडौं उपत्यकाका गुठीलाई अन्य गुठीभन्दा फरक ढंगले सम्बोधन गरिनुपर्ने, सवायत्तता दिनुपर्ने, गुठी संस्थान परिमार्जन गरिनुपर्ने बताए ।

त्यस अवसरमा बोल्दै गुठी विधेयक विरुद्धको संयुक्त संघर्ष समितिका संयोजक डा. महेशमान शाक्यले नेपालमण्डल र वरिपरिका आदिवासी नेवारको प्रचलित प्रथाजन्य संस्था गुठीलाई स्वायत्तता दिनुपर्ने, गुठीलाई छुट्टै समाधान गर्नुपर्ने बताए । यस्तै ज्यापु महागुठी नेपालका अध्यक्ष राजभाई जकमीले उपत्यकाको गुठीको छुट्टै भावना रहेकाले त्यसलाई स्वायत्तता दिनुपर्ने बताए । राष्ट्रिय पहिचान संघर्ष समितिका अध्यक्ष गणपतिलाल श्रेष्ठले गुठी सम्बन्धी कानुन आवश्यक रहेको र त्यससम्बन्धी कानुन बनाउन सहयोग गरिने बताए । तर जसका निम्ती कानुन बनाउन लागेको हो ती समुदायको मर्म समेटिनुपर्ने बताए ।