राजनीति

ओली सरकारले आफ्ना व्यक्तिको भ्रष्टाचार ढाकछोप गर्न गच्छादारलाई फसायोः वरिष्ठ नेता पौडेल

नुवाकोट । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षधरलाई जोगाउने र अर्को पक्षलाई पेल्ने नीति लिएको आरोप लगाएका छन् ।

पञ्चकन्या गापा–२ कालिका माविमा आज आयोजित ‘प्रथम चेयरमेन कप’ भलिबल प्रतियोगिताको समापन कार्यक्रममा वरिष्ठ नेता पौडेलले काँग्रेस नेता विजय गच्छदारलाई अख्तियारले मुद्दा चलाएकोप्रति असन्तुष्टि जनाउँदै सरकारले आफ्ना व्यक्तिले गरेको भ्रष्टाचारको भने ढाकछोप गर्ने गरेको आरोप लगाए ।
वरिष्ठ नेता पौडेलले पञ्चकन्याले जिल्लाभरको लागि खेलकूदको क्षेत्रमा राम्रो काम गरेको बताए । उनले पञ्चकन्या गाउँपालिकाले राजनीतिक रुपमा पनि सहिष्णुता प्रदर्शन गरी राजनीतिक संस्कारको थालनी गरेकोमा प्रशंसा गरे । कार्यक्रममा नेपाली काँग्रेस नुवाकोट जिल्ला सभापति जगदीशवर नरसिंह केसीले ओली नेतृत्वको सरकारमा ब्यापक भ्रष्टाचार बढेको बताउँदै काँग्रेस नेतृत्वमा सरकार बनेमात्र जनतालेराजत पाउने बताएका थिए ।

जिल्लाभरिका पालिकास्तरीय ‘प्रथम पञ्चकन्या चेयरमेन कप’ भलिबल प्रतियोगिताको उपाधि आयोजक पञ्चकन्या गाउँपालिकाले जितेको छ । आज कालिका माविको प्राङ्गणमा भएको फाइनलमा आयोजक पञ्चकन्याले म्यागङ गाउँपालिकाको टिमलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

तेस्रो स्थानको लागि दुप्चेश्वर गाउँपालिका र शिवपुरी गाउँपालिकाबीच भएको प्रतियोगितामा दुप्चेश्वर विजयी भएको छ ।
उपाधि विजेता पञ्चकन्याले रु एक लाख नगद पुरस्कार पनि प्राप्त गर्न सफल भएको छ । उपविजेता म्यागङले रु ७५ हजार र तेस्रो भएको दुप्चेश्वरले रु ५० हजार नगद पुरस्कार जित्न सफल भएको छ ।

माघ २५ गतेबाट सञ्चालन भएको प्रतियोगितामा जिल्लाका १२ वटै पालिकाको सहभागिता थियो । पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले खेलाडी, जनप्रतिनिधि, स्थानीय, कर्मचारी, राजनीतिक दल, नागरिक समाजको सहयोगको कारण प्रतियोगिता सफल भएको बताए ।