राजनीति

पत्रकारले पार्टीको काम र पत्रकारिता पेशालाई बराबरीरूपमा अगाडि बढाउनु पर्छः रक्षामन्त्री पोखरेल

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारमा पेशागत दक्षता आवश्यक रहेको बताएका छन् । प्रेस सङ्गठन प्रदेश नं १ ले आज यहाँ आयोजना गरेको प्रदेश भेला तथा शपथग्रहण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले पत्रकारले पार्टीको काम र पत्रकारिता पेशालाई बराबरीरूपमा अगाडि बढाउनुपर्ने बताए ।

सरकार परिवर्तन भएको मात्र नभएर प्रणाली नै परिवर्तन भएकाले सरकारले निर्माणको कामलाई अघि बढाएको उपप्रधानमन्त्री पोखरेलले बताए । “कृषिलाई व्यावसायीकरण र आधुनिकीकरण गर्ने काम गरेका छौँ, औद्योगिक क्षेत्रको निर्माणलाई प्रोत्साहन र ऊर्जा विकासको काम प्रारम्भ गरेका छौँ, हामी विकासका लागि योजनाबद्धरूपमा अघि बढिरहेका छौँ”, उनले भने ।

सरकारले पनि पार्टीको घोषित नीति र घोषणापत्रको कार्यान्वयनमा पहल गर्ने हो भन्दै उनले एउटा एउटाको पछि लागेर सरकारले कुरा गर्न थाल्यो भने भद्रगोलको स्थिति हुनेछ भने । पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्र्ज भीम आचार्यले जनतालाई सही सूचना पु¥याउने काममा पत्रकारले जोड दिनुपर्ने बताए। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले उल्लेख्य काम गरेको बताए ।

कार्यक्रममा नेकपा प्रचार विभागका उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्र्य थापा, नेकपा प्रदेश अध्यक्ष देवराज घिमिरे, प्रेस सङ्गठन केन्द्रीय अध्यक्ष महेश्वर दाहाल, प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, इटहरी उपमहानगरपालिकाका प्रमुुख द्वारिकलाल चौधरी तथा नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेलले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । प्रेस सङ्गठन प्रदेश नं १ का संयोजक राजन केडीको अध्यक्षतामा सम्पन्न कार्यक्रमले सात बुँदे इटहरी घोषणापत्र जारी गरेको थियो ।