खेलकुद

पुन: दोस्रो हार बेहोर्दै नेपाल

काठमाडौ । थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी(२० क्रिकेटमा फेरि एक पटक ब्याटिङ कमजोर हुदा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आइतबार नेपाल हङकङसँग ४३ रनले पारजित भएको हो । १५५ रनको लक्ष्य पछ्याएको नेपाल १८।१ ओभरमा १११ रनमै अलआउट भयो ।

एक सय ५५ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरको खेलमा १९ औँ ओभरको पहिलो बलमा सबै विकेट गुमाउँदै एक सय ११ रनमात्र बनाउन सक्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । यसअतिरिक्त कुशल मल्लले १९, अविनाश बोहराले १२ र आरिफ शेखले १० रनको योगदान गरे ।

यसअघि पहिला ब्याटिङ गर्दै हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५४ रन बनाएको थियो ।हङकङका लागि निजाकत खान मोहम्मदले सर्वाधिक ४८ रन बनाएका थिए । यस्तै मोहम्मद अजिज खानले २९, हारुन मोहम्मद अरशदले २७, शहिद वासिफले २६ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र सुशन भारीले दुई–दुई विकेट लिए भने कुशल मल्लले एक विकेट हात पारे ।