काठमाडौं । राष्ट्रिय सभाका १९ जनाको कार्यकाल आज सकिदै छ । अथमन्त्री डा युवराज खतिवडा सहित राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल आज राति १२ बजेदेखी सकिन लागेको राष्ट्रिय सभा सचिवालयले जनाएको हो ।
मन्त्रिपरिषदले पुनःनियुक्तिका लागि सिफारिस नगरे अर्थमन्त्री डा. खतिवडाको कार्यकाल पनि आजै रातिदेखि सकिनेछ ।
“हिजो बसेको मन्त्रिपरिषदले सिफारिस गरेको भए दिउँसोसम्म जानकारी आउला,” राष्ट्रिय सभा स्रोतले भन्यो, “नभए उनको पनि सांसदको कार्यकाल आजै राति १२ बजेदेखि सकिन्छ ।”
आज कार्यकाल सकिने सांसदहरुमा नेकपाका नौजना रहेका छन् । डा.खतिवडा, कमलाकुमारी वली, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर र हरिचरण सिवाकोटी रहेका छन् ।
त्यसैगरी कांग्रेसका दुर्गाप्रसाद उपाध्याय, बद्रीप्रसाद पाण्डे, सुरेन्द्रराज पाण्डे, धनकुमारी खतिवडा, मुक्ताकुमारी यादव, विन्दा आले र सरिता प्रसाइँको कार्यकाल पनि आजैदेखि सकिँदैछ ।
राजपाका रमेशप्रसाद यादव र वृषेशचन्द्र लालको कार्यकाल पनि आजै सकिँदैछ । समाजवादी पार्टीका रामप्रित पासवानको कार्यकाल पनि आजै सकिनेछ ।
भोलिदेखि राष्ट्रिय सभामा कांग्रेसका ६ जना मात्रै सांसद रहनेछन् । राजपाका दुई र समाजवादी पाएका एकजना सांसद रहनेछन् भने बाँकी नेकपाका रहनेछन् । ५९ सदस्यीय राष्ट्रिय सभा ९ जना मात्रै विपक्षमा रहेका राजनीतिक दलका सांसद रहनेछन् ।
यसैबीच आज दिउँसो २ बजे बस्ने राष्ट्रिय सभाको बैठकअघि नयाँ बानेश्वरमा सामूहिक फोटो सेसन हुने भएको छ ।
आजदेखि बिदाइ हुने सांसदहरुले आजको बैठकमा आफ्ना धारणाहरु राख्ने तयारी गरिएको राष्ट्रिय सभा सचिवालयले जनाएको छ । त्यसैगरी नवनिर्वाचित सांसदहरुको भोलि ११ बजे सपथ हुने भएको छ ।





