काठमाडौं । नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलले कोरोना भाइरस (कोबिड–१९)को सम्भावित सङ्क्रमणको हल्लासँगै बजारमा देखिएको कालोबजारी र मूल्यवृद्धिको खबरदारी गर्ने जनाएको छ । काँग्रेसको तरुण विभागका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारीले आज सञ्चारकर्मीसँग कुरा गर्दै बजारमा देखिएको कालोबजारी र मूल्यवृद्धिप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाए ।
उनले भने, “सर्वसाधारणका लागि अत्यावश्यक सामग्रीको पर्याप्त आपूर्तितर्फ सरकारले गम्भीरता देखाएन भने जनताको अधिकारका लागि हाम्रा तरुण युवाले खबरदारी गर्नेछन् ।” उनले कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न आवश्यक चिकित्सकीय उपकरण र औषधिको तयारीका लागि सरकारलाई आग्रह गर्दै कोरोना भाइरसको जोखिमबारे जनस्तरसम्म जनचेतना फैलाउन तरुण युवा परिचालन हुने बताए ।
केन्द्रीय सदस्य भण्डरीले कोरोना सङ्क्रमणका बारेमा ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतनाको अभियान पार्टी र आबद्ध संस्थाहरुमार्फत विविध ढङ्गले अघि बढाइने बताए ।
कार्यक्रममा आक्रमक रुपमा प्रश्तुत भएका तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेतले पार्टीको निर्देशनबमोजिम देशभरका शाखाहरुले सबै जिल्लामा कोरोना भाइरसको जोखिमबारे जनचेतना फैलाउन परिचालन हुने बताउँदै कालोबजारी नियन्त्रण गर्न जनताका पक्षमा हस्तक्षेपसम्म गर्ने चेतावनी दिए । उनले काँग्रेस पार्टीले दिएको निर्देश्न तरुण दलले सदैब पालना गर्ने भन्दै कोरोना संक्रमणबाट नेपाली जनतालाई बचाउन तरुण दलले कुनै कसर बाँकी नराख्ने बताए । अध्यक्ष बस्नेत्ले माक्स लगायतका कुराहरुमा कालोबजारी भएको भन्दै त्यस्तो खबरदारी तरुण दलले गर्ने भन्दै कालोबजारीयाहरु तरुण दलको पञ्जाबाट नबच्ने चेतावनी दिए ।
काँग्रेसले कोरोनाको सङ्क्रमणबारे विश्व स्वास्थ्य सङ्गठनले गराएको सचेतता, सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर पार्टी एवं पार्टीसँग आबद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभालगायतका कार्यक्रम बुधबारदेखि लागू हुने गरी अर्को सूचना नगरिएसम्मलाई स्थगित गरिसकेको छ ।





