खेलकुद

नेपालले आज सिंगापुरसंग अन्तीम खेल खेल्दैः आजको खेल प्रतिष्ठाका लागि मात्रै

काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले आज (शुक्रबार) सिंगापुरको सामना गर्दैछ ।

बैंककमा हुने नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार बिहान ८.१५ बजे सुरु हुनेछ ।

टेर्डथाई क्रिकेट मैदानमा नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । निकै लयमा रहेको सिंगापुरलाई हराउनु नेपाललाई ठुलो चुनौती रहेको छ ।

एसिया कप छनोटमा पुग्ने लक्ष्य सहित थाइल्याण्ड पुगेको नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपालको लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ ।

सिंगापुर भने शीर्ष दुई पक्का गर्दै एसिया कप छनोटमा पुगेको छ । तर, अन्तिम खेलमा नेपाललाई हराएर सिंगापुर अपराजित रहन्छ चाहन्छ ।

३ खेलमा ३ जितका साथ सिंगापुर तालिकाको शीर्ष स्थानमा रहेको छ । यस्तै नेपाल भने ३ खेलमा १ जित निकाल्दा २ अंकका साथ पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

यसअघि सिंगापुरले मलेसिया, हङकङ र थाइल्याण्डलाई पराजित गरेको थियो । नेपाल भने थाइल्याण्डमाथि जित निकाल्दा मलेसिया र हङकङसँग पराजित भएको थियो ।