रामपुर । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आफूले पाउने तलबभत्ता सामाजिक क्षेत्रमा खर्चेका छन् ।
नगर प्रमुख थापाले आफूले पाएको २७ महिनाको तलव रामपुरको गौशालाको स्तरोन्नतिका लागि सहयोग गर्ने घोषणा गरेका छन् । उनले गौमाताको संरक्षण र गौशालाको स्तरोन्नतिका लागि २७ महिनाको तलबभत्ता रु नौ लाख ९०९ रुपैया सहयोग गर्ने बताए ।
“आफूले पाएको तलबभत्ता मैले चुनाव अघि नै सामाजिक क्षेत्रमा खर्चने वाचा गरेको थिए, मैले पाउने तलबभत्ताले सामाजिक विकास र अशक्तको लागि केही भए पनि राहत पुग्नेछ भनी सहयोग गरेको हुँ, नगर प्रमुख थापाले भने ।
जनताले दिएको माया, साथ सहयोगलाई आत्मसात् गर्दै सेवाको भावना राखेर नितान्त सामाजिक हितमा काम गरी नगरको सिङ्गो विकासमा लागेको उनले बताए । नगर प्रमुख थापाले अपाङ्गता भएका व्यक्ति, असहाय गरिब परिवारमा पनि सहयोग गर्दै आएका छन् ।
उनले सामाजिक सङ्घ संस्थामा व्यक्तिगत तर्फबाट पनि रकम सहयोग गरेका छन् । रामपुर नगरपालिका–६ स्थित तातोपानीधाममा नगरको सहयोगमा गौशाला निर्माण गरिएको छ ।
रामपुर क्षेत्रमा छाडा छाडिएका गाईलाई व्यवस्थापन गर्न र पछिल्लो समय हिन्दूधर्मअनुसार पवित्र मानिने गाई हेयका रुपमा हेरिन थालेपछि नगरले गौशाला निर्माण गरेको हो ।
मुलुकमा भ्रष्टाचार गर्दै गरिब जनता लुट्ने प्रबृत्ती बढिरहंदा थापाको यस्तो कार्य सराहनीय छ । यो मात्रै होईन उनले यसअघि पनि आफ्नो तलब भत्ता यस्तै सामाजिक कार्यमा लगाईरहेको थिए । थापाबाट अन्य जनप्रतिनिधिले पनी केही पाठ सिक्ने हो की ।





