खोटाङ । प्रक्षेपण गरेअनुसार सङ्घीय सरकार, प्रदेश सरकार र आन्तरिक स्रोतबाट बजेट नजुटेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कार्यक्रम संशोधन गरेको छ ।
सङ्घीय सरकार र प्रदेश सरकारले राजश्व बाँडफाँडतर्फको सिलिङअनुुसार बजेट नपठाएपछि र लक्ष्यअनुसार आन्तरिक स्रोत नजुटेपछि नगरपालिकाले हिउँदे नगरसभामार्फत कार्यक्रम संशोधन गरेको हो ।
गत असार १० गतेको नगरसभामा छलफलका लागि पेश गरेर असार ३१ गते रु ४८ करोड आठ लाख सात हजार बराबरको बजेट पारित गरेकामा संशोधन गरेर पुनः रु ४७ करोड ७९ लाख ३० हजार बराबरको बजेट तथा कार्यक्रम पारित गरिएको नगरप्रमुख इवन राईले जानकारी दिए । “सङ्घीय सरकार र प्रदेश सरकारले राजश्व बाँडफाँडतर्फको सिलिङअनुसार बजेट पठाएन । हामीले राखेको लक्ष्यअनुसार आन्तरिक स्रोत पनि जुट्न सकेन”, उनले भने, “यसअघि पारित गरेर लागू गरिएको बजेट तथा कार्यक्रम संशोधन हुँदा नगरपालिकाको योजना प्रभावित भएको छ ।”
प्रक्षेपण गरेअनुसार बजेट नजुट्दा विभिन्न योजनाका लागि बजेट घटेर जाने नगरपालिकाले जनाएको छ । हिउँदे नगरसभामा नगरपालिकाले चालु आर्थिक वर्षमा विकासतर्फ विनियोजन गरेको रु ११ करोड ९४ लाख ८२ हजार ५०० बजेटमध्ये छ महिनामा ३९ प्रतिशत अर्थात् रु चार करोड ६५ लाख ९८ हजार १७५ खर्च भएको, सामाजिक विकासतर्फ विनियोजित रु आठ करोड १२ लाख ४८ हजार १०० मध्ये हालसम्म ५४ प्रतिशत अर्थात् रु चार करोड ३८ लाख ७३ हजार ९७४ र पूर्वाधारतर्फ रु १६ करोड २४ लाख ९६ हजार २०० मध्ये ३८ प्रतिशत अर्थात् रु छ करोड १७ लाख ४८ हजार ५५६ मात्र खर्च भएको जानकारी दिएको छ ।
यस्तै, वातावरण तथा विपद् व्यवस्थापनतर्फ विनियोजित रु सात करोड १६ लाख ८९ हजार ५०० मध्ये ४८ प्रतिशत अर्थात् रु तीन करोड ४४ लाख १० हजार ९६० र संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन क्षेत्रतर्फ विनियोजित रु चार करोड ३० लाख १३ हजार ७०० मध्ये ३८ प्रतिशत अर्थात् रु एक करोड ६३ लाख ४५ हजार २०६ खर्च भएको अर्धवार्षिक भौतिक तथा वित्तीय प्रगति प्रतिवेदन पारित गरिएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सो नगरपालिकाको हिउँदे नगरसभाले अर्धवार्षिकरूपमा गरिएका कार्यक्रमको समीक्षा गर्दै १४ ऐन, कानून र कार्यविधिसमेत पारित गरेको छ ।
यसअघि पारित गरेर लागू गरिएको नगरपालिकाको शिक्षा ऐन पनि संशोधन गरिएको नगरप्रमुख राईले बताउनुभयो । यस्तै गत साउन १ गतेदेखि बसेको ११ वटा कार्यपालिका बैठकले पारित गरेको निर्णयसमेत अनुमोदन गरिएको जनाइएको छ । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा पनि धमाधम हिउँदेसभा भइरहेको छ । भौगोलिकरूपमा बिकट मानिएको खोटाङ जिल्लाका हरेक स्थानीय तहले भौतिक विकासमा जोड दिएको पाइएको छ ।





