३ साउन, सप्तरी । निरन्तरको वर्षापछि कोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ। पानीको सतह खतराको नजिक पुगेपछि कोसी ब्यारेजका २८ वटा ढोका खोलिएको छ भने चेतावनीस्वरूप रातो बत्ती बालिएको छ।
आइतबार बिहान ८ बजे कोसी नदीमा १ लाख ७६ हजार ३०५ क्युसेक पानीको बहाव मापन गरिएको थियो। दिउँसोसम्म बढेर यो २ लाख ९ हजार ८४० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पानीको बहाव बढेसँगै कोसी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खोलिएको प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए।
कोसी ब्यारेजमा पानीको बहाव खतराको तह नजिक पुगेपछि प्रशासनले रातो झण्डा र रातो बत्तीमार्फत जोखिमको संकेत दिएको छ।
प्रशासनले कोसी नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा नदी किनारमा नजान आग्रह गरेको छ। साथै, वर्षा अझै जारी रहेकाले नदीको बहाव थप बढ्न सक्ने भन्दै स्थानीय तह र सुरक्षा निकायले निगरानी बढाएका छन्।





