काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा नुवाकोट जिल्ला सभापति जगदीशनरसिंह केसीले बिरामी प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चिठी लेखेका छन् । नेता केसीले ओलीलाई चिठी लेख्दै राजीनामा दिएर आराम गर्न सुझाव दिएका छन् ।
पछिल्लो पटक मृगौला प्रत्यारोपण गरेका ओलीलाई शुभकामना दिँदै बालकोट गएर आराम गर्न आग्रह गरेका छन् । साथै उनले चिकित्सकले बताएअनुसार आरामको आवस्यकता भएकाले आराम गर्न सुझाव दिएका छन् ।
उनको चिठी
प्रधानमन्त्रीजी,
बालकोट गएर आराम गर्नुहोस् ।
निकै जोखिमपूर्ण अनुमान गरिएको मिर्गौलाको सफल प्रत्यारोपणपछि तपाईं स्वास्थ्यलाभ गरी अस्पतालबाट फर्कनुभएको खबरले निकै खुसी भएको छु । हुन त आफ्नै पार्टीका नेता माधवकुमार नेपालको शुभकामनाभित्र त श्राप देखेर मुख चलाउने तपाईंले मेरो शुभेच्छालाई पक्कै सकारात्मक लिनुहुने छैन वा अप्रिय प्रतिक्रिया समेत दिन सक्नुहुनेछ । तपाईं जे गर्नुहुन्छ गर्नुहोस्, मचाहिँ मेरो मानवधर्मलाई साक्षी राखेर र एउटा राजनीतिक कार्यकर्ता हुनुका नाताले राजनीतिक धर्मको धरातलमा उभिएर हृदयदेखि नै शुभकामना प्रकट गर्दछुः तपाईं शीघ्रातिशीघ्र पूर्ण स्वास्थ्यलाभ हासिल गर्नुहोस् ।
प्रतिपक्षलाई सधैँ कटाक्ष गर्ने प्रधानमन्त्रीको शैलीलाई ब्यङ्ग गर्दै उनले मानविय धर्मले पनि शिघ्र स्वास्थ्य लाभको शुभकामना दिएको बताए ।
प्रधानमन्त्रीजी,
तपाईंको स्वास्थ्यलाभका लागि देशभर पूजाआजा, भजनकीर्तन र भाषणभुषण भए । यी कुनै बाट नभई चिकित्सकहरूको कौशलकै कारण तपाईंलाई यो उपलब्धि प्राप्त भएको कुरा त कम्तीमा तपाईं पनि पत्याउनुहुन्छ नि हगि ?
तपाईं त स्वस्थ हुनुभयो, हामी सबै खुसी भयौँ । देश अस्वस्थ्य छ, सबै दुःखी छौँ । तपाईंले पूर्ण भरोसा गरेर आफ्नो रोगको शल्यक्रिया गर्ने जिम्मेवारी सुम्पेका डाक्टरहरूले जब एप्रोन लगाए तब केही बोलेनन्, काममात्र गरे । बिग्रेको झिकेर फाले, सद्दे खोजेर ल्याएर प्रत्यारोपण गरे । तपाईं उठ्नुभयो । नेपाली जनताले पनि तपाईंले जस्तैगरी रुग्ण देशको बेथितिहरूको शल्यक्रिया गरी उठाउने भरोसापूर्ण जिम्मेवारी कुनै डाक्टरलाई दिएका थिए । ती डाक्टर अरू कोही नभएर तपाईँ नै हुनुहुन्थ्यो । तर, देशको शल्यक्रियाको जिम्मा पाएका तपाईं डाक्टर मिर्गौलाको शल्यक्रिया गर्ने ती डाक्टर जस्तो इमान्दार हुनुहुँदोरहेनछ । उनीहरू काम सबै राम्रो गर्ने, बोल्न चाहिँ केही पनि नबोल्ने, तपाईं बोलेको बोल्यै गर्ने, हुँदो काम केही नगर्ने, नहुँदो नहुँदोचाहि सबै गर्ने । यत्ति हो तपाईं डाक्टर र ती डाक्टरबीच भिन्नता । यही हो तपाईं स्वस्थ हुँदै र देश अस्वस्थ्य हुँदै जानुको कारण ।
तपाईंले अस्पताल जानुअघि दिनुभएको सपना र प्रयत्न शब्द सुन्दा उतिखेरै कुरीकुरी लागेको थियो । समयको संवेदनशीलताका कारण केही बोलिएन । भाषण र उखानबाहेक के छन् सपना रु के छन् प्रयत्न रु तपाईँको दुईवर्षे कार्यकालको सपना, प्रयत्न वा सफलता जे भने पनि ३३ किलो सुन, सिन्डिकेट, वाइडबडी, प्रेस र अभिब्यक्ति स्वतन्त्रता नियन्त्रण विधेयक, एनसेल, बुढीगण्डकी, सेक्युरिटी प्रेस खरिद प्रकरण आदि हैनन् र रु तपाईंको राष्ट्रवादले लिपुलेकमा लम्पसार परेर अस्तिनै हावा खाइसकेको पक्कै हेक्का होला ।
प्रधानमन्त्रीजी,
तपाईं त स्वस्थ हुनुभयो । छिट्टै पूर्ण स्वस्थ हुनुहुने छ । तर, तपाईंको काम गराइ स्वस्थ छैन । तपाईंबाट देशको स्वास्थ्यमा सुधार आउने छाँट पनि छैन । समाचारमा आएअनुसार तपाईंलाई पनि आरामको आवश्यकता छ । बालुवाटार को सरकारी निवास ओगटेर होइन, बालकोटको निवासमा तपाईंलाई जरूरी भएको आराम मिल्नेछ, आराम गर्नुस् । पुनः पूर्ण स्वास्थ्यलाभको कामना अन्त्यमा, प्रधानमन्त्रीलाई आरामका साथै देश र जनताले मागेका बिकासमा लाग्न आग्रह गरेका छन् ।





