राजनीति

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपणपछि पहिलो पटक नेकपाले डाक्यो सचिवालय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणपछि पहिलो पटक नेकपाले सचिवालय बैठक डाकेको छ । यसअघि बसेको सचिवालय बैठक ओलीको स्वास्थ्य लाभको कानना गर्दै सकिएको थियो ।

त्यसपछि ओली अस्पताल भर्ना भएका थिए । मंगलबार हिजो दिउँसो नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलले आजको बैठक तय गरेको हो । बैठक अपरान्ह ४ बजे बोलाईएको छ ।

फागुन १४ गते बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने भनी गरेको निर्णय कार्यान्वयन नगर्ने ओलीको अडानपछि नेकपाभित्र देखिएको विवाद यथावत नै छ ।

विवाद नसल्टाइ प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका थिए । फागुन १८ गते बसेको सचिवालय बैठकमा ओलीले आफूले मिर्गौला प्रत्यारोपण गर्न लागेको भन्दै स्वास्थ्य लाभको कामना गर्न आग्रह गरेका थिए । त्यसयता नेकपा सचिवालय बैठक बस्न सकेको थिएन ।