आर्थिक

कैदीबन्दीबाट कोषमा रु ७५ हजार ८४० प्रदान

वीरगञ्ज । वीरगञ्ज कारागारका कैदीबन्दीले एक दिनको खर्चबापतको रु ७५ हजार ८४० कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा प्रदान गरेको छ ।

विश्वव्यापीरुपमा मानव अस्तित्व र सभ्यतामाथि कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको अवस्थामा वीरगञ्ज कारागारका ९५ महिलासहित एक हजार २६४ कैदीबन्दीले एक दिनको खर्चबापतको रु ७५ हजार ८४० सो कोषमा प्रदान गरेको हो ।

कारागारभित्र शुक्रबार आयोजित एक कार्यक्रमबीच सो रकम कारागारका पुस्तकालय नाइके कुनाल अग्रवालले जेलर श्रवणकुमार पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा जेलर पोखरेलले राहत रकम लिँदै उक्त रकम नेपाल सरकारको राहत कोषमा जम्मा गर्ने बताए । हाल कारागारभित्र एक हजार २८६ कैदीबन्दी रहेका छन् ।

कारागारभित्र रहेका कैदीबन्दीमध्ये आर्थिकरुपमा अतिविपन्न २२ कैदीबन्दीले रकम उपलब्ध गराउन नसकेको कारागार प्रशासनले जनाएको छ ।

सो अवसरमा कैदीबन्दीका तर्फबाट पुरुष नाइके विनोद साह सोनार, महिला नाइके जमुना कुँवरलगायतले स्वेच्छाले कैदीबन्दीले उक्त रकम दिएको बताएका थिए ।