गण्डकी प्रदेश

पहिरोले धन्सार भत्किँदा ६ घाइते

५ असार, लमजुङ । बेँसीशहर नगरपालिका –११ चितीका एक बासिन्दाको धन्सार पहिरोबाट भत्किँदा ६ जना घाइते भएका छन् । बिहीबार साँझ अविरल परेको वर्षाले जुद्धबहादुर थापाको धन्सारमाथिबाट पहिरो खसेर मानिस घाइते भएको प्रहरीले जनाएको छ ।
जुद्धबहादुरसहित उनकी श्रीमती किरण तथा धन्सारमा बस्दै आएका लुकबहादुर गुरुङ, अमृत गुरुङ, सरस्वती गुरुङ र सुशीला गुरुङ घाइते भएका छन् । उनीहरुलाई स्थानीयवासी र प्रहरीले पुरिएका अवस्थामा उद्धार गरी बेँसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि ल्याएका छन् । किरणलाई भने आज बिहान नगर प्रमुख गुमानसिंह अर्यालले घटनास्थल निरीक्षणका लागि पुगेर फर्किने क्रममा आफ्नै गाडीमा सो अस्पतालमा लगेर उपचार गराएका छन्

घाइतेमध्ये जुद्धबहादुरलाई भने थप उपचारका लागि पोखराको मणिपाल अस्पतालमा गए राति नै लगिएको छ । उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । घाइतेको खुट्टा, टाउको, ढाडलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । बेँसीशहरमा उपचारत घाइतेलाई नगर प्रमुख अर्याल, उपप्रमुख लक्ष्मी अधिकारीलगायतले भेट्नुभएको छ ।