३ साउन, काठमाडौं । अर्थविद डा शंकर शमर्माले मौद्रिक नीतिले निजी क्षेत्रको अपेक्षालाई समेटेको बताएका छन् । उनले राष्ट्र बैंकको मौद्रिक नीतिबारे टिप्पणी गर्दै रिपोदर ३.५ प्रतिशतबाट ३ मा झारिएकाले बैंकहरूले केही सस्तोको पुँजी पाउने अवस्था भएको बताएका छन् ।
उनले बैंकको ब्याजदर घटाउन सहयोग पुग्ने अपेक्षा गरेका छन् । डा शर्माले भनेका छन्, ‘पुनर्कर्जा कोषको रकम भने तोकिएको छैन र कोषको रकमको ५ गुणासम्म जान सक्ने भनिएको छ । तर, स्रोतका रूपमा रहन सक्ने राष्ट्र बैंकको नाफाबाट पनि सरकारलाई रकम जान्छ ।’
नेपालका लागि अमेरिकाका पूर्व राजदूतसमेत रहेका डा शर्माले ५० अर्ब रकम सरकारको उद्देश्यअनुसार व्यवस्थापन हुन सक्ने भएकाले त्यसले कस्तो प्रभाव पार्ला भन्ने देखिने भन्दै सबै हुँदाहुँदै पनि कोषको उपलब्धता मुख्य भएको बताएका छन् ।उनले त्यो नभएसम्म घोषणा गरिएका कार्यक्रमले धेरै लाभ दिन सक्दैन भन्ने दाबी गरेका छन्।
डा शर्मा भन्छन्, ‘पुनर्कर्जा कोषका रूपमा बैंकहरूमा जाने ७० प्रतिशत रकमको जिम्मा बैंकलाई दिइएको छ । त्यो पनि राम्रै हो । मौद्रिक नीति विस्तारकारी नै देखिए पनि कर्जाको वृद्धिदरको सीमा धेरै बढाइएको छैन । कर्जाको माग स्वतः कम हुने देखिन्छ । त्यसैले यसले मूल्यवृद्धिमा भने धेरै दबाब दिँदैन ।’





