गण्डकी प्रदेश

बीपी र पुष्पलालका स्मृतिमा वृक्षरोपण गरी स्मृति दिवस

७ साउन, गण्डकी । पोखरा महानगरपालिका–३२ स्थित ऐतिहासिक संरक्षित स्थल राजाको चौतारामा ३८ औँ बीपी स्मृति र ४२औँ पुष्पलाल श्रेष्ठ स्मृति दिवसको अवसर पारेर समीको बिरुवा रोपिएको छ ।

ब्रह्मा रुपा माध्यमिक विद्यालयको हाताभित्र रहेको ऐतिहासिक राजाको चौतारामा पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की र स्थानीय ज्येष्ठ नागरिकद्वय रेवतीरमण पौडेल र गजेन्द्रराज तिवारीले संयुक्तरुपमा वृक्षरोपण गरेको हो ।

स्थानीयवासीका अनुसार पोखरा महानगरपालिका–३२ तल्लो गगनगौँडादेखि एक किलोमिटर पूर्व मालमूल फाँट र त्यहाँस्थित ब्रह्मा रुपा माध्यमिक विद्यालयको परिसरभित्रको राजाको चौतारा यस क्षेत्रको ऐतिहासिक स्थलमध्येको एक हो ।

प्राचीन कालदेखि नेपालको पूर्व–पश्चिम मूल बाटोमा यही चौतारा भएर सर्वसाधारण काठमाडौँबाट पश्चिमतिर जुम्ला र किल्ला–काँगडासम्मको यात्रामा निस्कने गर्दथे । त्यस्तै पूर्व–पश्चिमबाट दक्षिण भीमादतिर जाने हुलाकको बाटो पनि यही चौताराबाट छुट्टिन्थ्यो ।

तत्कालीन समयमा हुलाकका जाँचकीहरूले यही चौतारामा बसेर हुलाक जाँच्थे र हुलाक साट्थे । यसअघि कास्कीका राजा शिव शाहको पालामा कास्कीको मालमूलमा शान्ति सम्झौताका लागि बाह्र राजाको भेट भएको र त्यसको स्मारकस्वरूप चौतारा बनाइएको कारण यसको नाम राजाको चौतारा हुन गएको स्थानीयवासीको भनाइ छ ।

राजाको चौतारा शान्ति सम्झौता र सहअस्तित्वको प्रतीक रहेको बताउने स्थानीयवासी वयोवृद्ध गजेन्द्रराज तिवारीले यो कुनै सामन्ती शासकको निशाना नभएका कारण यसलाई राजाको चौतारा भन्न कुनै आपत्ति मान्नुनपर्ने बताए ।

इतिहासअनुसार यसै चौतारामा तत्कालीन कास्कीका राजा शिव शाहको पालामा भीरकोट, गह्रौँ र ढोर तीन खान राज्य र नुवाकोट, सतौँ, कास्की, लमजुङ र गोरखा (आठटीकाका आठ राजा भन्ने गरिएको) तथा तनहुँ, रिसिङ, घिरिङ र पर्वतका गरी बाह्र राजा भेटेर एक आपसमा झैझगडा नगर्ने, आ–आफ्ना साँधसिमानामा मिलेर बस्ने सम्झौता गरिएका कारण त्यसै समयदेखि यस स्थललाई महत्वका साथ हेर्ने गरिएको छ ।