राजनीति

स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार, अमानवीय र आपराधिकः साझा

७ भदौ, काठमाडौं । साझा पार्टीले स्वास्थ्यकर्मीमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार भएको  ठहर गरेको छ ।

पार्टीका सह– प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै विभिन्न स्थानमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूमाथि भईरहेका दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै जाँदा राजधानी काठमाडौँ सहित देशका विभिन्न भागमा पछिल्ला दिनमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूमाथि दुर्व्यवहार भएका समाचारप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।

व्यक्तिमाथि कुनै पनि खालको भेदभाव वा दुर्व्यवहार कानूनीरूपमा दण्डनीय कसुर भएको र त्यसमाथि हाल जनस्वास्थ्य संकटको समयमा पर्याप्त सेवा सुविधाको अभावका बावजुद आवश्यक विश्राम समेत नलिई विरामीहरूको सेवामा अहोरात्र खटिईरहेका स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गरिनुपर्नेमा उल्टै आफ्नै छरछिमेकबाट उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार भएको विज्ञप्तिमा उल्लेख छ ।

पाठकले विपद्को यो घडीमा उच्चतम मानवीय संवेदना प्रदर्शन गर्दै समाजको हरेक अर्को सदस्यको कठिनाईमा सक्दो सहयोग गर्नु र चिकित्सकसहित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई प्रोत्साहन गर्नु हरेक नागरिकको कर्तव्य भएको भन्दै सबै नागरिकले त्यसो गरेमा मात्र कोभिड १९ विरुद्धको साझा लडाईँ केही सहज हुने बताएका छन् ।
छ।

स्वास्थ्यकर्मी तथा कोरोना संक्रमित व्यक्तिमाथि अनावश्यक आशंकाका आधारमा दुर्व्यवहार र भेदभाव जन्य कृयाकलाप कसैले गरेमा त्यस्ता व्यक्ति वा समूहमाथि तत्काल कानूनी कारवाही सुनिश्चित गर्न साझा पार्टीले सरकारसँग माग समेत गरेको छ ।

देशभरका स्वास्थ्यकर्मीहरूले सुरक्षित र सम्मानित महसुस गर्ने अवस्था बनाईराख्न आवश्यक भूमिका खेल्न साझा पार्टी आफ्ना सदस्य, शुभेच्छुक तथा आम सर्वसाधारणलाई अपील समेत गरेको छ ।