समाचार

महामारीको समयमा अग्रपङ्तीमा काम गर्ने स्वास्थ्यकर्मीलाइ सम्मान गर्न बारकाे आग्रह

८ भदौँ, काठमाडौँ । नेपाल बार एशोसिएशनले महामारीको समयमा अग्रपङ्तीमा रही काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सङ्क्रमित बिरामीलगायत सबैप्रति सम्मान गर्न आग्रह गरेको छ ।

महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा दिनरात नभनेर, भोकै, अनिदै सङ्क्रमण नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सङ्क्रमित बिरामीलगायत सबैप्रति आदरभाव राखी मनोबल उच्च गराउनेतर्फ अग्रसर हुन आग्रह गरिएको छ ।

बारले गलत अनूचित गतिविधिमा संलग्नउपर कारवाही गर्न र संविधानले प्रदान गरेको नागरिकको स्वास्थ्यसम्बन्धी हकको निर्वाध प्रचलन गराउने व्यवस्था मिलाउन सरकार र सम्बन्धित निकायसँग माग गरेको छ । पछिल्ला केही हप्तामा नेपालमा कोभिड–१९ को सङ्क्रमणको संख्या बढ्दै गएको छ । चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी आफ्नो घर, परिवार, भोक, चिन्ता सबै बिर्सेर आमनागरिकलाई कसरी जोगाउन सकिन्छ भनि पर्याप्त सुविधाको अभावमा पनि अहोरात्र कार्यक्षेत्रमा खटिइआएका छन् । उहाँहरुको कामप्रतिको समर्पण भाव र जिम्मेवारीप्रति बारले आभार व्यक्त गरेको छ ।

कोरोना सङ्क्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत कोही पनि पेशा व्यवसाय गर्ने व्क्ति अछुतो रहन सकेका छैनन् । सङ्क्रमणबाट बिरामी परेका र सङ्क्रमण मात्र देखिएका व्यक्तिको आत्मबल बढाउने खालका गतिविधि गर्नु सबैको कर्तव्य हुनुपर्नेमा कतिपय ठाउँमा सङ्क्रमण र सङ्क्रमणबाट निको भइसकेका व्यक्तिलाई समेत समाजले राम्रो व्यवहार नगरेको भनि पढ्न र देख्नुु दुखदायी कुरा भएको बारले जनाएको छ ।

अझ त्यसमा पनि हालै काठमाडौं, चितवन, मोरङ, संखुवासभा, जाजरकोटलगायतका जिल्लामा स्वास्थ्यकर्मी, चिकित्सक, स्वास्थ्य संस्था, आइसोलेशन वार्ड लगायतमा भएका असामाजिक, अभद्र व्यवहारबाट अत्यन्त लज्जा र पीडा बोध गराएको बारले जनाएको छ ।