राजनीति

सम्धी भएको कारण वाणिज्य बैंकमा डा कोईरालाको नियुक्ती गरेको भन्ने प्रचार गलतः उपप्रधानमन्त्री पोख्रेल

१० भदौ, काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको स्पष्ट गरेका छन् ।
उनले आज विज्ञप्ति जारी गरी आफ्नो परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिद्वारा पद वा सम्बन्धको दुरूपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उल्लंघन गरेर नभएको जनाएको हो ।
“भएका काम विधिसम्मत, पारदर्शीतासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु”, उनले विज्ञप्तिमा भनेका छन्, “मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका र गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु ।”
उनले विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध सङ्घर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ कुप्रचार गरिएको स्मरण गर्दै अहिले विगतको निरंकुश शाही शासनका तिनै मतियारहरू समेत नयाँ ढङ्गले आफ्नो विरूद्धमा स्वर उरालिरहेको उल्लेख गरेका छन् ।
बाणिज्य बैंकमा नियुक्ती पाएका डा उपेन्द्र कोईरालाको नियुक्तीमा सम्धी परेपछि बिबादमा तानिएपछि उक्त कुरामा आफ्नो संलग्नता नभएको उपप्रधानमन्त्री पोख्रेलले स्पष्ट गरेका हुन् । डा कोईराला उपप्रधानमन्त्री पोख्रेलका सम्धी भएकोले दबाबमा नियुक्ती गरिएको भन्दै ब्यापक बिरोध भएपछि उनले स्पष्ट गरेका हुन् ।