लुम्बिनी

प्युठानका ग्रामीण सडक अवरुद्ध

१५ भदौ, झिमरुक । वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएका कारण प्यूठानका ग्रामीण सडक अवरुद्ध भएका छन् । सवारीसाधन नचल्दा ऐरावती गाउँपालिकाका सिख्रे तिग्रापातल, तिल्केनी, चुत्रेनी जाबुनलगायतका नागरिकले समस्या भोग्दै आएका छन् । यहाँ हिउँदको समयमा मुश्किलले सवारीसाधन आवतजावत गरे तापनि वर्षात्का समयमा सवारीसाधन चल्दैनन् । आर्थिक वर्ष २०७३/०७४ बाट सडक डिभिजन कार्यालयले माण्डवी र ऐरावती गाउँपालिका जोड्ने चेरनेटा–चीन–जाबुने सडकखण्ड स्तरोन्नति गर्न लागेपछि सडकमा गाडी गुड्न पाएका छैनन् ।

शुरुमा माटो र ढुङ्गाको उचित व्यवस्थापन नहुँदा सवारी सञ्चालनमा आउनसकेका थिएनन् । तिग्रापातलवासीले ठेकेदारका कारण समस्या भएको जनाउँदै इलाका वन कार्यालय बरौलामा मौखिक निवेदन दिएपछि रोकिएको निर्माणको काम माग पूरा गर्ने सर्तमा पुनःसञ्चालन भएको थियो ।

वर्षात्का समयमा पानीको मात्रा बढेसँगै नयाँ सड्क भत्किनुका साथै ठाउँठाउँमा पहिरो गएको छ । वर्षात्का कारण माटो, ढुङ्गा अत्यधिकमात्रामा खोलामा मिसिन गई तिग्रा, धुवाङ्ग, कैरन बस्तीनै सङकटमा परेपछि स्थानीयवासीको विरोधका कारण रोकिएको काम अझै शुरु हुन सकेको छैन ।

सडकमा रहेको ढुङ्गा माटो र पहिराका कारण मोटरसाइकलसमेत आवतआवत गर्नसक्ने अवस्था नरहेको स्थानीय तिल्केनी टोल विकास संस्थाका अध्यक्ष सञ्जितकुमार गुरुङले बताए । गाउँघरमा कोही बिरामीलाई अस्पताल पु¥याउनसमेत कठिनाइ भएको उहाँको भनाइ छ ।

सडक डिभिजन कार्यालयका अनुसार करीब १९ किलोमिटर सडकको स्तरोन्नतिका लागि रु आठ करोड बजेट विनियोजन भएको थियो । हालसम्म चार करोड बराबरको काम भइसकेको सडक डिभिजन कार्यालयका इञ्जिनीयर अर्जुन खत्रीले जानकारी दिए । वर्षात्को समयमा चौतर्फी विरोध भएपछि केही समय काम स्थगित गरिएको उहाँको भनाइ छ ।

चेरनेटा–चिन–जाबुने सडकखण्ड एउटा उदाहरण मात्र हो । ऐरावती गाउँपालिकाकै बरौला–नार्सिनेटा–दाङवाङ जोड्ने सड्क पनि अहिले अवरुद्ध छ । यहाँका स्थानीयवासीलाई सडक अवरुद्ध हुँदा आवातजावतमा समस्या परेको छ । अत्यावश्यक काममा जानुपरेमा वा कोही बिरामी भएमा घुमाउरो सडकमार्फत अस्पताल पु¥याउने गरिएको स्थानीयवासी बताउँछन् । वर्षात्का समयमा जिल्लाका ग्रामीण क्षेत्रका विभिन्न कच्ची सडक अवरुद्ध हुन्छन् । थोरै बजेटमा जनताले सडक गाउँमा पु¥याउन खोज्नु, व्यवस्थितरुपमा सडक निर्माण नहुनु तथा सडकमा नाली निर्माण नगरिनुले ग्रामीण सडक अवरुद्ध हुने गरेका बताइएको छ ।

यस्तै झिमरुक गाउँपालिकाभित्रका भित्री शाखाका सडक पनि वर्षात्को समयमा अवरुद्ध छन् । गौमुखी गाउँपालिकाका पनि अर्खा, गौमुखी जाने सडक पनि तथा नौवहिनी गाउँपालिकाका बाहाने–स्याउलीबाङ, बाहाने–लिगा, बल्लेखोला–मैरामारे सडकखण्ड पनि अवरुद्ध रहेका छन् ।