१९ भदौ, काठमाडौं । बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयमा स्थानीय र प्रहरी बीच भएको हिंसात्मक झडपको घटना प्रति नेपाली कांग्रेस संसदीय दलले दुःख व्यक्त गरेको छ ।
सदियौं देखि चल्दै आएका विभिन्न जात्रा पर्व हाम्रो संस्कृति र परम्पराका धरोहर भएको भन्दैे हामी सबैले सम्मान एवं जगेर्ना गर्नु हाम्रो दायित्व तथा कर्तव्य भएको दलले ठहर गरेको छ ।
दलले भनेको छ, ‘हाल देश नै कोभिड १९ महामारीको कारण आक्रान्त रहेको अवस्थामा छ । देशका विभिन्न स्थानका साथै काठमाडौं उपत्यकामा पनि दुई साता भन्दा बढी समय देखि निषेधाज्ञा जारी छ । यस्तो अवस्थामा परम्परागत रुपमा चल्दै आएका महत्वपूर्ण जात्रा सञ्चालनका लागि प्रशासन, जात्रा आयोजक, स्थानीय निकाय र सम्बन्धित सबै पक्ष बीच आवश्यक समन्वय हुनु जरुरी थियो । तर समन्वय अभावको कारण आजको दुःखद परिस्थिति सृजना भएको हो ।’
प्रमुख सचेतक बालकृष्ण खाणद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, ‘कोरोना भाईरसको जोखिमलाई ध्यानमा राखी भौतिक दुरी कायमका साथै उच्च सतर्कता अपनाई रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन सम्बन्धित सबै पक्षलाई वार्ता एवं सम्वादको माध्यमबाट सहमति कै आधारमा निकास खोज्न नेपाली कांग्रेस संसदीय दल हार्दिक अपिल गर्दछ ।’
खाणले घटनामा घाइते हुनु भएका सम्पूर्ण व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामसमेत गरेका छन् ।





