आर्थिक

अब अनलाईनबाटै एनआईसी एशिया बैंकमा चेक जम्मा

५ असोज, काठमाडौं । एनआईसी एशिया बैंकले समयअनुरुप परिष्किृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै देशको बैंकिङ्ग इतिहासमै पहिलो पटक ग्राहकवर्गले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी यस बैंकको चेक आफ्नो वा आफुले चाहेको खातामा जम्मा गर्न अनलाईनबाटै भौचर भर्न मिल्ने प्रणालीको शुभारम्भ गरेको छ ।

ग्राहकहरूबाट आफ्नो मोबाइल वा कम्प्युटर मार्फत https://www.iserve.nicasiabank.com लिंकमा गई चेक जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सकिनेछ । उक्त लिंक भित्र सेवाग्राहीहरूका लागि भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिएको छ । उक्त भौचरमा आफुलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएस मार्फत डिपोजिट कोड पठाईनेछ र त्यसपछि उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै भौचर सोझै काउण्टरमार्फत आफुले चेक जम्मा गर्न चाहेको खातामा चेक जम्मा गर्न सकिनेछ । यसरी चेक जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि चेक बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा चेक जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिनेछ । बैंकले ल्याएको अनलाईनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिन सकिने हुनाले काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने परम्पराको अन्त्य हुने बैंकले विश्वास लिएको छ ।
चेक जम्मा गर्ने भौचर अनलाईन भर्ने यस सेवाको अलावा बैंकले नगद रकम जम्मा गर्ने भौचर समेत अनलाईन प्रणालीबाट भर्ने प्रणाली ल्याइसकेको छ भने सेवाग्राही आफै बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने ‘Digital Account OpeningÚ प्रणालीको समेत शुरुवात गरिसकेको छ । साथै मोबाइल बैंकिङ्ग सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौदात विवरण, चेक अनुरोध, ई–कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध, ABBS सुविधा र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत यस iServe मार्फत सेवा दिईरहेको छ र उक्त सेवाहरू iServe मार्फत लिँदा शतप्रतिशतसम्म शुल्क छुटको व्यवस्था गरिएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६७ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहक हरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब एक अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।