अन्तर्राष्ट्रिय

कोरोनाभाइरसबाट विश्वभर तीन करोड ४२ लाख संक्रमित, १० लाख १९ हजारको मृत्यु

१५ असोज, पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख १९ हजार ६८० पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ४२ लाख १२ हजार ३८१ पुगेको छ । कूल सङ्क्रमितमध्ये दुई करोड ५४ लाख ६२ हजार निको भएका छन् भने करिब ७७ लाख ३० हजार ४९४ मानिस सक्रिय सङ्क्रमित छन् ।

विश्वभर अझै पनि ६५ हजार ९४३ मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७४ लाख ५१ हजार नाघिसकेको छ । कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ११ हजार ८०५ को मृत्यु भएको छ ।

विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६३ लाख १२ हजार ५८४ सङ्क्रमित भएका छन् भने यहाँ ९८ हजार ७०८ को ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा ४८ लाख १३ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४३ हजार ९६२ को मृत्यु भएको छ ।

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा ११ लाख ८९१ सङ्क्रमित रहेका छन् भने २० हजार ८९१ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।