समाचार

नमोबुद्धको सार्वजनिक जग्गा संरक्षण गर्न प्रधानमन्त्रीसमक्ष स्थानीयको गुहार

२९ जेठ, काठमाडौं ।  काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ का स्थानीय बासिन्दाले सार्वजनिक जग्गा संरक्षणका लागि प्रधानमन्त्रीसमक्ष हस्तक्षेपको माग गरेका छन्। स्थानीयहरूले सार्वजनिक प्रयोजनका लागि प्रयोग हुँदै आएको जग्गा व्यक्तिको नाममा दर्ता गरी बेचबिखन गरिएको दाबी गर्दै सम्बन्धित निकायबाट प्रभावकारी छानबिन नभएको गुनासो गरेका हुन्।

स्थानीयका अनुसार साविक मेथिनकोट गाविस–२ (हाल नमोबुद्ध नगरपालिका–४) मा रहेको कित्ता नम्बर ३०४ को ११ रोपनी ११ आना २ पैसा क्षेत्रफलको जग्गा विगतदेखि गौचरण तथा वन क्षेत्रका रूपमा प्रयोग हुँदै आएको थियो। उक्त जग्गा पछिल्लो समय व्यक्तिगत नाममा दर्ता गरी किनबेच गरिएको आरोप स्थानीयवासीले लगाएका छन्।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय, सम्बन्धित मन्त्रालय तथा अन्य सरकारी निकायमा यसअघि नै उजुरी दिइएको भए पनि हालसम्म ठोस कारबाही नभएको स्थानीयहरूको भनाइ छ। उनीहरूले सार्वजनिक सम्पत्ति संरक्षण तथा जग्गा दर्ता प्रक्रियाबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

स्थानीयले केही व्यक्तिहरू र सम्बन्धित निकायका अधिकारीहरूको संलग्नतामा सार्वजनिक जग्गा निजी स्वामित्वमा ल्याइएको आशंका व्यक्त गर्दै त्यसबारे विस्तृत अनुसन्धान हुनुपर्ने बताएका छन्। साथै, जग्गाको वास्तविक अवस्था, स्वामित्व र उपयोगबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

स्थानीय बासिन्दाले हाल उक्त जग्गामा भइरहेको गतिविधिले सार्वजनिक सम्पत्तिमाथि अतिक्रमणको आशंका बढाएको दाबी गर्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्। उनीहरूले सार्वजनिक जग्गाको संरक्षण, छानबिनको निष्पक्षता तथा दोषी देखिएकामाथि कानुनबमोजिम कारबाहीको माग गरेका छन्।

यता, समाचारमा उल्लेख गरिएका व्यक्ति तथा निकायहरूको प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन। आरोपबारे सम्बन्धित पक्षको धारणा आएमा त्यसलाई पनि सार्वजनिक गरिनेछ।