२४ कात्तिक, मंगलबारे । वर्षौँदेखि पानी बोकेर खाने इलाम सोयाकका स्थानीयवासी घरघरमा जडित धारमा पानी झर्न थालेपछि खुसी भएका छन् । नेपाल सरकारको विशेष अनुदानमा इलाम नगरपालिकाले वडा नं ११ सोयाकमा बोरिङ प्रणालीमार्फत घरघरमा पानी पुर्याएपछि स्थानीयवासी खुसी भएका हुन् ।
नगरपालिकाले सोयाक खानेपानी आयोजना खण्ड १, २ र ३ सञ्चालन गरी १०० भन्दा बढी घरपरिवारलाई पानी उपलब्ध गराएको हो । कति परिवार पानी नभएकै कारण सो स्थान छोडिसकेको भए पनि पानी पाएपछि सोही ठाउँमा फर्किन थालेका छन् । स्थानीय नरेन्द्रप्रसाद आचार्य पानी अभावकै कारण आफू जन्मेको थातथलो छोडेर पानी भएको ठाउँमा बसाइँ सरेका थिए । गएको चैतबाट पानीको काम अगाडि बढेपछि उन ले पुनः फर्किएर सोही ठाउँमा घर बनाएका छन् । उनले मात्र होइन धेरैले सो ठाउँ छोडिसकेका थिए । पानी आउने खबर पाएका विस्थापितहरु सोही स्थानमा फर्किन थालेको उनले बताए ।
अहिले नगरपालिकाले बोरिङ प्रणालीमार्फत पानी निकालेपछि केही हदसम्म भए पनि समाधान हुनेमा स्थानीयवासी ढुक्क भएका छन् । सो क्षेत्रको खानेपानीको सङ्कट टार्न पहाडी क्षेत्रमा डिप बोरिङमार्फत समस्या समाधान गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए। बर्सेनि पानीको मुहान सुक्न थालेसँगै स्थानीयवासीले गाउँ छाड्न थालेपछि नगरापालिकाले बोरिङ प्रणालीमार्फत स्थानीयवासीलाई पानी वितरण गरेको उन ले बताए ।
पानी अभावले थलिएका स्थानीयवासीले हाल आवश्यकतानुसार पानी पाउने भएपछि राहत महसुस गरेका छन् । स्थानीय पवित्रा मगरले यसअघि एक पटक ल्याएको पानी आठ दिनसम्म प्रयोग गर्नुपरेको बताए । यो प्रविधि प्रयोग गरेर पानी निकालेपछि पानी अभावमा बस्ती सर्नुपर्ने बाध्यताको अन्त्य भएको नगर प्रमुख बस्नेतको भनाइ छ ।
बोरिङमार्फत पानी निकालेपछि गाउँमा खुशीयाली छाएको वडाध्यक्ष रविन एक्तेनले बताउनुभयो । चौँसठ्ठी घर परिवारलाई लक्षित गरेर बनाइएको खानेपानी आयोजना हाल ८४ घर परिवारलाई वितरण गरिसकिएको छ । एक्तेनका अनुसार क्रमिकरूपमा घरधुरी अनुसार खानेपानीको लाइन विस्तार गर्दै लगिने छ ।
इलाम नगरपालिका र नेपाल सरकारको विशेष अनुदानमार्फत रु दुई करोड ४७ लाखको लागतमा सो आयोजना निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत कालीप्रसाद भुजेलले जानकारी दिए। आयोजनामा एक लाख लिटरको एउटा, ५० हजार र १० हजार लिटर क्षमताको एक/एक वटा रिजर्भ ट्याङ्की निर्माण गरिएको नगरपालिकाका इन्जीनियर दिपक गुरागाइँले बताए ।





