प्रदेश 1

कालपोखरीमा सशस्त्र प्रहरीको बिओपी स्थापना

२७ कात्तिक, इलाम । सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि इलामको सन्दकपुरस्थित कालपोखरीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट बीओपी स्थापना गरिएको छ । बुधबार इलामको सन्दकपुर गाउँपालिका–४ मा पर्ने कालपोखरीमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सन्दकपुर गाउँपालिकाले उपलब्ध गराएको स्थानीय कर्मा शेर्पा लामाको दुई तले र पाँच कोठे पक्की भवनमा बीओपी स्थापना गरिएको हो ।
बीओपीको उद्घाटनमा प्रदेश नं। १ का सांसद खिनु लाङवा लिम्बु, सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राई, माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई, सशस्त्र प्रहरी बल १ नं। बराह बाहिनी मुख्यालय सुनसरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल गिरी, गणपति सशस्त्र प्रहरी उपरीक्षक सुधिरजङ्ग थापा, भारतीय एसएसबीका बीएन जी कोयलगायत उपस्थिति थिए । पछिल्लो समय जिल्लाका विभिन्न क्षेत्रमा बीओपी स्थापना गर्न थालिएको छ । केही समयअघि मात्रै छब्बिसे, पशुपतिनगरलगायत क्षेत्रमा पनि बीओपी स्थापना गरिएको छ ।