लुम्बिनी

सुस्ताका सबै वडा जोड्दै अध्यक्ष नमूना सडक

३० कात्तिक, परासी /  नवलपरासी बर्दघाट सुस्ता पश्चिम को सुस्ता गाउँपालिकाका सबै वडा सडक सञ्जालसँग जोडिने भएका छन् । पाँचवटै वडालाई सडक सञ्जालमार्फत जोड्न गाउँपालिकाले ‘नमूना सडक’ कार्यक्रममार्फत धमाधम सडक निर्माण गरिरहेको छ ।
सबै वडालाई सडकको पहुँचमा पु¥याउने गरी गत वर्षदेखि यो सडक निर्माण थालिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए । गाउँपालिका र सङ्घीय सरकारको समपूरक बजेटअन्तर्गत निर्माण भइरहेको सो सडकका लागि गत वर्ष रु दुई करोड ६० लाख खर्च भएको उनले बताए । “यो वर्ष वडा नं १ देखि ३ सम्म जोडिन्छ, आगामी वर्षमा सबै वडा जोडिएर भारतीय सीमासम्म सडक सञ्जाल पु¥याउने लक्ष्य हो”, अध्यक्ष पाण्डेले भने । यो सडक निर्माण सम्पन्न गर्न रु १७ करोड बजेट लाग्ने अनुमान गरिएको गाउँपालिकाले जनाएको छ ।
अध्यक्ष नमूना सडक कार्यक्रमअन्तर्गत कूल १४ किलोमिटर सडक निर्माण हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बस्यालले जानकारी दिए । तीस फुट चौडा र नालीसहितको सडक निर्माण भइरहेको बताउँदै उनले भने, “गाउँपालिकाअन्तर्गत पर्ने नेपाली गण्डक नहरको मूल सडक र हुलाकी सडकबाहेकका अन्य सहायक तथा भित्री सडकमा गाउँपालिकाले धमाधम कालोपत्र गरिरहेको छ ।”
गाउँपालिकामा अहिले गण्डक नहर र नारायणी नदीको बाँधलाई सडकका रुपमा प्रयोग गरिएको छ । सबै वडाका बस्तीलाई केन्द्रमा राखी सडक सञ्जाल विस्तार गर्ने अभियानअन्तर्गत हालसम्म गाउँपालिकाको ८० प्रतिशत क्षेत्रमा सडक निर्माण भएको गाउँपालिकाले जनाएको छ । आगामी दुई वर्षभित्र बाँकी २० प्रतिशतमा पनि सडक निर्माण गरी गाउँपालिकाका सबै बस्तीमा सडक सञ्जाल विस्तारको काम सम्पन्न गरिने अध्यक्ष पाण्डेले बताए ।