अन्तर्राष्ट्रिय

कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो

१५ मंसिर, विलमिङटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्नेक्रममा खुट्टा मर्किएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् । बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको र उनलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्न सक्नेछ ।
बाइडेनलाई डेलावेयरस्थित नेवार्क अस्पतालमा शनिबार उपचारका लागि भर्ना गरिएको थियो ।
बाइडेनका चिकित्सक केभिन ओ–कोन्नोरले एक विज्ञप्ति प्रकाशन गरी प्रारम्भिक एक्स–रे गर्दा हड्डी भाँचिएको नदेखिएको बताएका छन् । तर उनको खुट्टाको सिटी स्क्यान गर्न लागिएको पनि डा केभिनले बताए ।
बाइडेनको उमेर हाल ७८ वर्ष रहेकाले पनि स–सानो दुःखाई पनि जटिल हुन सक्दछ । राष्ट्रपति–निर्वाचित बाइडेनले आगामी वर्ष जनवरी २० मा राष्ट्रपतिको शपथ लिँदै छन्। उनी अमेरिकी इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्छन्।
बाइडेन अस्पतालमा जाँदा खुट्टा खोच्याउँदै हिँड्नु भएको देखिएको थियो तर वैशाखी वा अन्य कुनै सहायता लिनु भएको थिएन ।
राष्ट्रपति–निर्वाचित बाइडेन परिवारमा २ वटा कुकुर छन् र उनहरुले दुबैलाई ह्वाइट हाउस लैजाने यसअघि नै बतासकेका छन् ।