१८ मंसिर, काठमाडौं । डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा वित्तीय सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग मार्फत ग्राहकहरूले आफै मुद्दती खाता खोल्न सक्ने सुविधाको थालनी गरेको छ ।
डिजिटल बैंकिङ्गको प्रवद्र्धनका साथै आफ्ना ग्राहकहरूलाई अनलाइन माध्यमबाट मुद्दती खाता खोल्ने सुविधा दिई सहज बैंकिङ्गको प्रत्याभूति गराउन बैंकले यस नवीन सेवा सुरु गरेको हो । बैंकका ग्राहकहरूले NIC ASIA MoBank एपमा रहेको फिक्स डिपोजिट आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दती खाता खोल्न सक्नुहुनेछ ।
यस बैंकमा ग्राहकहरूले कम्तिमा तीन महिनादेखि अधिकतम १० वर्ष भन्दा बढी समयका लागि व्यक्तिगत मुद्दती निक्षेप गर्न सक्नुहुनेछ भने वार्षिक ब्याजदर सुविधा क्रमशः ७.२५ देखि ९.७५ प्रतिशतसम्म प्राप्त गर्न सक्नेछन् । मोबाइल बैंकिङ्गमार्फत मुद्दती खाता खोल्नु हुने ग्राहकहरूलाई प्रोत्साहनस्वरूप बैंकले प्रकाशित सम्पूर्ण किसिमका मुद्दती निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गर्ने व्यवस्था गरेको छ ।
‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले ल्याएका यो सुविधा अन्तर्गत स्वचालित पद्धतीअनुरूप ग्राहकहरूले क्षणभरमै मुद्दती खाता खोली बिना कुनै झन्झट उच्चतम ब्याजदरले भरिपूर्ण मुद्दती निक्षेपको फाइदा लिन सक्केछन् । बैंकले हाल शाखा कार्यालयहरू तथा वेबसाइटमार्फत मुद्दती खाता खोल्ने सुविधा दिँदै आएकोमा NIC ASIA MoBank मार्फत थालनी गरिएको यस सुविधाबाट ग्राहकहरुले अझ सहज रुपमा मुद्दती खाता खोल्न सक्नेछन् ।
‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप बैंकले आफ्ना विभिन्न सेवा, कारोबार तथा सुविधाहरू प्रविधिमैत्री बनाउने क्रममा ल्याएको यस अनलाइन माध्यमबाट मुद्दती निक्षेपकर्ताहरूले थप सहज रुपमा सुविधा उपभोग गर्न सक्ने बैंकले विश्वास लिएको छ ।
स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै डिजिटल कारोबार गर्ने महानुभावहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच डिजिटल माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको Digital Nepal Framework अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकहरूलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई Cashless Economy बनाउन यो योजनाले सहयोग पु¥याउने बैंकले लक्ष्य लिएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३३० शाखा कार्यालयहरू, ४७० एटिएम, ९९ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।





