अन्तर्राष्ट्रिय

कुबेतका अमिरले प्रधानमन्त्रीमा शेख सबालाई नै पुनः नियुक्त

२३ मंसिर, एजेन्सी । कुबेतका अमिर शेख नवाफ अल–अहमद अल–जावेर अल–सबाले मङ्गलबार प्रधानमन्त्रीमा पुनः शेख सबा खालिद अल–हमद अल–सबालाई नै नियुक्त गरेका छन् । कुबेत न्युज एजेन्सी ९केयूएन्ए० का अनुसार कुबेतमा शनिबार सम्पन्न निर्वाचनपछि कुबेती संबैधानिक व्यवस्था अनुसार शेख सबाले प्रधानमन्त्रीबाट आइतबार राजिनामा दिएका थिए ।

अमिरले शेख सबाले प्रधानमन्त्रीबाट दिएको राजिनामा स्वीकृत गरी उहाँलाई नैे अर्को व्यवस्था नहुन्जेलका लागि कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी तोकेका थिए । कुबेती अमिरले प्रधानमन्त्री शेख सबालाई नयाँ सरकार गठनका लागि मन्त्रीहरूको नामावली छनोट गरी अनुमोदनका लागि पेश गर्नसमेत मङ्गलबार निर्देशन दिएका छन् ।

बायन प्यालेसमा अमिरसँग भएको भेटमा नवनियुक्त प्रधानमन्त्री शेख सबाले कुबेती सरकारको नेतृत्वका लागि आफूलाई पुनः छनोट गरेकोमा कृतज्ञता प्रकट गरेको बताइएको छ ।

उक्त अवसरमा उहाँले कुबेती कानुन र परिधि अनुसार राज्य तथा नागरिकको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कुबेतले गत शनिबार ५० सीटको संसदका लागि गरेको निर्वाचनमा कूल ३२६ जनाले प्रतिस्पर्धा गरेका थिए ।