पु.समाचार

ओलीको अनुपस्थितमै सुरु भयो नेकपा स्थायी कमिटी बैठक

१ पुष, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)को स्थायी कमिटी बैठक बालुवाटारमा सुरू भएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको एक्लाएक्लै भेटवार्ता सकिएलगत्तै बैठक सुरू भएको छ ।

तर, प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली बैठकमा उपस्थित नभएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । प्रधानमन्त्रीका प्रेस सल्लामकार सूर्य थापाले भने बैठकको एजेण्डामै सहमति नभएकाले ओली सहभागी नभएको जनाए । स्थायी कमिटी जारी रहेका बेला पार्टीभित्र छलफल नै नगरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि दलभित्रैबाट सरकारको चर्को भइरहेका बेला अध्यक्ष ओली बैठकमा सहभागी नभएका हुन् ।

पार्टी सञ्चालन र सरकार सञ्चालनका विषयबाट सुरू भएको नेकपा विवाद पछिल्लो समय विभिन्न नियुक्ति र पछिल्लो अध्यादेश प्रकरणपछि झनै चुलिएको छ । अध्यादेश जारी भएलगत्तै खुमलटारमा मंगलबार बसेको दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठको बैठकले तत्काल अध्यादेश खारेज नभए ओलीविरुद्ध कठोर कदम चाल्ने चेतावनीसमेत दिइसकेका छन् ।

संवैधानिक परिषदमा रिक्त पदाधिकारी नियुक्तिको प्रयासमा दुई पटकसम्म डाकेको बैठक स्थगित भएपछि मंगलबार ‘आकस्मिक‘ बसको मन्त्रिपरिषद बैठकले नयाँ अध्यादेश ल्याएको हो । सरकारले सिफारिस गरेको संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ राष्ट्रपतिबाट जारी भएसँगै नेपालको राजनीतिले नयाँ मोड लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको अध्यादेशअनुसार मंगलबार साँझ नै संवैधानिक परिषद्को बैठक बसिसकेको छ ।

प्रधानमन्त्रीसहित संवैधानिक परिषदका पदाधिकारीको मौजुदा संख्याको बहुमत भए परिषद बैठक बस्ने गरी अध्यादेश जारी भएको छ । अब परिषदका ५ जना मध्ये ३ जनाको उपस्थितिमा बैठक बस्न सक्नेछ र बहुमत अर्थात् दुई जनाले निर्णय गर्न सक्नेछन् । यसअघि जारी भई फिर्ता लिइएको अध्यादेशमा पनि यस्तै व्यवस्था थियो । नयाँ अध्यादेशविरूद्ध अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिटसमेत हालिसकेका छन् ।