पु.समाचार

नेपालमा आज ७ सय ३६ जनामा कोरोना पुष्टिः ८ सय वढी निको, १३ जना संक्रमितको मृत्यु

काठमाडौं १ पुष । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ३६ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ५५ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४५२ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ७ सय ५७ जना सक्रिय संक्रमित छन ।

आज ८४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ।