बाग्मती

सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवास स्रोत केन्द्रको उद्घाटन

३ पुस, चितवन / जिल्ला प्रशासन कार्यालयमा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवास स्रोत केन्द्रको उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा आज स्रोत केन्द्रको उद्घाटन गरिएको हो ।
महानगरपालिकाका प्रमुख रेनु दाहालले वैदेशिक रोजगारमा गएर नेपाली अलपत्र पर्ने अवस्था रहेकाले यसलाई न्यूनीकरणका लागि स्रोत केन्द्र महत्वपूर्ण हुने बताए। वैदेशिक रोजगारमा गएर बेवारिसे बन्न पुगेकालाई यसले सहयोग गर्ने उनको भनाइ थियो ।
विदेशमा जान लागेका र गएर फर्किएकालाई यस केन्द्रले मनोवैज्ञानिक परामर्श दिएर स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुग्ने उनले बताए । महानगरले विदेशबाट स्वदेश फर्किएकाको लागि ‘विदेशको सीप स्वदेशको कार्यक्रम’ सञ्चालन गर्ने तयारीमा रहेको सो अवसरमा जानकारी दिइयो । यस कार्यक्रमअन्तर्गत रु पाँच लाखसम्म ऋण लिएर व्यवसाय गर्नेका लागि सम्पूर्ण ब्याज महानगरले व्यहोर्ने र रु २५ लाखसम्म ऋण लिनका लागि दुई प्रतिशत ब्याज महानगरले ब्यहोर्ने प्रमुख दाहालले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लाबाट दैनिक ५० जनाले राहदानी बनाउने गरेको जानकारी दिए । अहिलेको समयमा वैदेशिक रोजगारमा जानेका लागि मनोवैज्ञानिक परामर्श महत्वपूर्ण पाटो रहेको उनको भनाइ थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङ, भरतपुर महानगरपालिका–१४ का अध्यक्ष ओमप्रकाश पोख्रेल, रत्ननगर नगरपालिका–३ का अध्यक्ष गोविन्द भट्टराई, मेड नेपालका वाग्मती प्रदेश अध्यक्ष बाबुराम केसी, महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेन्द्रप्रसाद पौडेललगायतले बोलेका थिए।
सुरक्षित आप्रवास परियोजनाअन्तर्गत जिल्लामा केन्द्रले चारवटा स्थानीय तहमा काम गरिरहेको छ । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ ।