५ पुस, ललितपुर / सातदोबाटो–गोदावरी सडक खण्डअन्तर्गत ठैव–बाडेगाउँ मूल सडकमा नाली तथा ढल व्यवस्थापनको कार्य अघि बढेको छ । सो सडक स्तरोन्नतिलगायत कालोपत्र गर्नका लागि आजदेखि नाली तथा ढल व्यवस्थापनको कार्य अघि बढाइएको हो । ती सडकमा दैनिक गुड्ने सवारी साधन वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिसकेको गोदावरी नगरपालिका–१४ का वडाध्यक्ष जगनाथ महर्जनले अनुरोध गरे । उनले भने, “ठाउँठाउँमा प्वाल खनेर ढलको पाइप हाल्ने र यसलाई सुकाउने काम गर्नुपर्ने हुँदा १६ दिन सडक अवरुद्ध हुनेछ ।”
ठैव–बाडेगाउँ मूल सडक भएर दैनिक यात्रा गर्ने गोदावरीवासीले हाडेगाउँचोक, बाडेगाउँचोक हुँदै झरुवारासी भएर भट्टराई आश्रम र ठैवचोक हुँदै दमैटार भएर हाडेगाउँ यात्रा गर्न थालिसकेका छन् । ती सडकमा ढल व्यवस्थापनका लागि ठैवबाट–बाडेगाउँसम्म ९०० मिटर खन्नुपर्छ । सो सडक खण्ड कालोपत्र गर्न सरकारले २२ मिटरको मापदण्ड तोके पनि मुआब्जा विवाद र क्षतिपूर्ति पाउन नसकेका कारण कहीँ चार, कतै छ लेनको र कहीँ आठ मिटरको सडक रहेको महर्जनले जानकारी गराए ।
केही वर्षअघि देखि सातदोबाटो–गोदावरी सडकको अवस्था एकदमै दयनीय बन्दै गइरहँदा आफूहरुले विभिन्न समस्या भोग्नुपरिरहेको स्थानीयवासीको गुनासो छ । सडकमा भएका खाल्डाखुल्डी, हिलो र धुलोका कारण वर्षैपिच्छे दुर्घटना हुने र सडक छेउमै घर भएका कारण दैनिक उड्ने धुलोले भित्रसमेत बस्न कठिन भइरहेको सविता महर्जनले गुनासो गरे ।