प्रदेश 1

सबै वडा कार्यालय भवनको शिलान्यास कार्य शुरु

१५ पुस, विराटनगर / मोरङको बेलबारी नगरपालिकाले सबै वडामा कार्यालय भवन निर्माण गर्ने कार्य आजदेखि प्रारम्भ गरेको छ । एघार वडा रहेको नगरपालिकामा अहिले भौतिक संरचनाको अभाव वडा नं ६, ८, १०, ११, १, २ र ४ वडा कार्यालय कि त भाडामा छन् कि त सार्वजनिक भवन प्रयोग गरेर जनताको सेवामा जुटेको पाइएको छ ।
नगरवासीलाई सेवा र सुविधामा पहुँच पु¥याउन नगरपालिकाले आफ्नै भवन बनाउने नीतिअनुरुप आज वडा नं १ को कार्यालय भवनको शिलान्यास गरेको छ । बिहीबारदेखि अन्य सबै भवनको शिलान्यास गरिने नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिए । उनले एक भवनका लागि रु ६२ लाख बजेट विनियोजन गरिएको र सातवटै भवन बनाउँदा रु चार करोड ३४ लाख खर्च हुने तथा सबै भवन चालु आर्थिक वर्षमै निर्माण कार्य सम्पन्न गर्ने बताए। एक हप्ताभित्रमा सबै वडा कार्यालयको शिलान्यास गरिसक्ने प्रमुख सुवेदीले बताए ।
प्रत्येक भवनमा चार कोठा, दुई सभा हल र शौचालय रहने व्यवस्था मिलाइएको छ । नगरपालिका गाभिएका साविकका डाँगीहाट, बाहुणी र कसेनी गाविसको आफ्नै भवन भएकाले ती भवनमा वडा कार्यालय स्थापना गरी जनतालाई आवश्यकताअनुसारको सेवा प्रवाह गरिरहेको प्रमुख सुवेदीले जानकारी दिए ।