१२ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि जारी गरिएको कर्फ्यु आदेशको पुनरावलोकन गर्दै केही क्षेत्रमा हटाएको छ।
सुरक्षा अवस्थाको मूल्याङ्कनका आधारमा पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको भए पनि संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा र कर्फ्यु आदेश भने यथावत राखिएको प्रशासनले जनाएको छ।
प्रशासनद्वारा जारी सूचनाअनुसार हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा लागू गरिएको छ।
यस्तै, हरिशङ्कर बजार, भुटाहा बजार, कमालगञ्ज बजार, घुस्की बजार तथा देवानगञ्ज बजारका तोकिएका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी रहेको छ। ती क्षेत्रमा सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक आवतजावत नगर्न प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले सुरक्षा अवस्था सामान्य बन्दै गएपछि आवश्यकताअनुसार आदेशमा थप पुनरावलोकन गरिने जनाएको छ ।






